इयू टी–२० लिगमा नेपालका नौ खेलाडी

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय टोलीका आक्रामक ब्याट्सम्यान लोकेश बमले बेल्जियममा हुने इयू टी–२० लिग क्रिकेट खेल्ने भएका छन् । इयू टिम एन्टवर्प एङ्कर्सले लोकेशलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालबाट जानकारी दिएको छ । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिलकुमार शाह, ललित राजवंशी, इसान पाण्डे र गुल्सन झाले पहिलोपटक बेल्जियममा आयोजना हुन लागेको टी–२० फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । लिग आगामी ६ देखि १४ जुनसम्म आयोजना हुँदै छ ।

लोकेश बम (एन्टवर्प एङ्कर्स)
लोकेशले एन्टवर्प एङ्कर्ससँग आगामी सिजन खेल्ने सम्झौता गरेका छन् । डोनाभान मिलर मुख्य प्रशिक्षक रहेको एङ्कर्समा आन्द्रे रसेल, मार्टिन गप्टिल, डेविड विसे र रुबेन ट्रम्पलम्यानजस्ता चर्चित खेलाडी छन् । गत मार्चमा भएको खेलाडी ड्राफ्टबाट उनीहरूलाई एङ्कर्सले अनुबन्ध गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट र एनपिएलमा गरेको प्रदर्शनका आधारमा लोकेशको चर्चा बढ्दै गएको छ । लोकेशले नेपालका लागि २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई सय १५ रन बनाएका छन् ।

आसिफ शेख (एन्टवर्प एङ्कर्स)
आसिफ नेपाली क्रिकेटका सदाबहार विकेटकिपर हुन् । यो आधा दशक उनले नियमित रूपमा नेपालको ओपनिङ गर्दै आएका छन् । २४ वर्षीय आसिफले घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफबाट खेल्छन् । नेपाल प्रिमियर लिग (एनपिएल)मा उनले जनकपुर बोल्ट्सबाट प्रतिस्पर्धा गरेका छन् । एनपिएलको पहिलो सिजनमा जनकपुर च्याम्पियन हुँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०२१ मा उनले नेदरल्यान्ड्सविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । त्यसयता टी–२० आईमा उनले ७२ खेल खेल्दा १७ सय रन जोडेका छन् ।

रोहित पौडेल (ग्लाडिअटर्स)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान रोहित हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय र टी–२० फर्म्याटमा फरक कप्तान चयन गर्दा उनले स्थान बनाउन सकेनन् । क्यानले रोहितलाई अहिले एकदिवसीय फर्म्याटको कप्तानी मात्र जिम्मेवारी दिएको छ । यद्यपि, रोहितकै कप्तानमा नेपालले लगातार दुईपटक टी–२० विश्वकप खेलेको थियो । रोहितले बेल्जियम लिगमा ग्लाडिअटर्सबाट खेल्नेछन् । यस टोलीमा इंग्ल्यान्डका जेम्स भेन्सदेखि दक्षिण अफ्रिकाका टेम्बा बभुमा, अफगानिस्तानका वाकर सलामखेल छन् । २३ वर्षीय रोहितले नेपालबाट ८० टी–२० आईमा १७ सय बढी रन बनाएका छन् । उनकै उत्कृष्ट प्रदर्शन र कुशक कप्तानीमा लुम्बिनी लायन्सले दोस्रो एनपिएलको उपाधि जितेको थियो ।

सन्दीप लामिछाने (लिंगे रेड लायन)
नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने सन्दीप हुन् । उनीसँग इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको विगवास, क्यारेबियनजस्ता लिग खेलेको अनुभव छ । सन्दीप पनि लिंगे रेड लायनबाट इयू टी–२० लिग खेल्दै छन् । यस टोलीमा अस्ट्रेलियन क्रिस लिन, बेन डकसँगै, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, अमेरिकाका हर्मित सिंह, वेस्ट इन्डिजका ओवेड म्याककोय छन् । २५ वर्षीय सन्दीप आइपिएलमा दिल्लीबाट खेल्ने एक मात्र नेपाली खेलाडी हुन् । घरेलु लिगमा उनी विराटनगर किंग्समा आबद्ध छन् । उनले नेपालबाट ७४ टी–२० आईमा एक सय ३६ विकेट लिएका छन् ।

अनिलकुमार शाह (जेबी ब्रुगस)
अनिल ओपनिङ गर्छन् । २७ वर्षीय अनिलले राष्ट्रिय टोलीको पहिलो रोजाइबाट खेल्न निकै संघर्ष गरिरहेका छन् । दायाँहाते ब्याट्सम्यान तथा विकेटकिपर अनिलले सन् २०१८ देखि नेपाली टोलीबाट खेल्न थालेका हुन् । नेदरल्यान्ड्सविरुद्ध उनले डेब्यु गरेका थिए । उनले १४ अन्तर्राष्ट्रिय टी–२० खेलमा दुई सय रनमाथि बनाएका छन् । उनी घरेलु क्रिकेटमा मधेश र जनकपुर बोल्ट्सबाट खेल्दै आएका छन् ।

दीपेन्द्रसिंह ऐरी (जेबी ब्रुगस)
पछिल्लो समयमा दीपेन्द्र अन्तर्राष्ट्रिय फ्रेन्चाइज टोलीका नजरमा परेका छन् । शुक्रबारै मात्र उनी युरोपियन टी–२० प्रिमियर लिगमा आबद्ध भएका थिए । उनी पनि इयू टी–२० लिगमा आबद्ध छन् । उनी जेबी ब्रुगसमा आबद्ध छन् । रमाइलो पक्ष के छ भने यस टोलीमा दीपेन्द्रसँगै गुल्सन झा, इसान पाण्डे, अनिल शाह र ललित राजवंशी पनि छन् । अलराउन्ड प्रदर्शनमा उत्कृष्ट क्षमता देखाउने दीपेन्द्रले यसै महिना सकिएको प्रधानमन्त्री कप खेलेनन् । प्रधानमन्त्री कप चलिरहँदा उनी पाकिस्तानको पिएसएल खेल्न इस्तानबुल युनाइटेडमा अनुबन्ध भएका थिए । यद्यपि, उनले एक खेल पनि खेलेनन् । २६ वर्षीय अलराउन्डर दीपेन्द्रले ९६ टी–२० आईमा २१ सयमाथि रन बनाएका छन् ।

गुल्सन झा (जेबी ब्रुगस)
गुल्सन नेपाली क्रिकेटका युवा अलराउन्डर हुन् । ब्याटिङ र बलिङमा उनको प्रदर्शन एकनास बन्दै गएको छ । उनी घरेलु क्रिकेट नेपाल पुलिस र एनपिएलमा कर्णाली याक्समा आबद्ध छन् । २० वर्षीय गुल्सनले लगातार दुईपटक टी–२० विश्ककप खेलेका थिए । बायाँहाते ब्याट्सम्यान गुल्सनले सन् २०२२ मा नेपाली टोलीबाट डेब्यु गरेका थिए । उनले ५७ टी–२० आई खेल्दा ६ सयभन्दा बढी रन तथा २९ विकेट लिइसकेका छन् ।

इसान पाण्डे (जेबी ब्रुगस)
इयू टी–२० लिगको अक्सनमा इसान जेबी ब्रुगसमा आबद्ध भएका थिए । २८ वर्षीय इसानले राष्ट्रिय टोलीबाट खेल्न निकै संघर्ष गरिरहेका छन् । घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि उनले राष्ट्रिय टोलीबाट डेब्यु अवसर पाएका छैनन् । पछिल्लो समय उनले बागमती प्रदेश र सुदूरपश्चिम रोयल्सबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । सुदूरपश्चिम लगातार दोस्रोपटक नेपाल प्रिमियर लिगको फाइनलमा पुग्दा इसानले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, उनले टोलीलाई उपाधि दिलाउन सकेका छैनन् ।

ललित राजवंशी (जेबी ब्रुगस) 
बायाँहाते २७ वर्षीय स्पिनर ललितले पनि पहिलोपटक आयोजना हुन लागेको बेल्जियमको लिग खेल्दै छन् । अक्सनमा उनलाई जेबी ब्रुगसले अनुबन्ध गरेको थियो । ललितले नेपालको एकदिवसीय तथा टी–२० आईमा गतिलो प्रदर्शन गर्दै आइरहेका छन् । नेपालको प्रमुख स्पिनरका रूपमा उनी लगातार सिनियर टोलीमा छन् । उनले सन् २०१९ मा युएईसँग खेल्दै नेपाली टोलीबाट डेब्यु गरेका थिए । उनले ३८ टी–२० आईमा ३६ विकेट लिएका छन् । 

सुझावित समाचार