मदननगरमै केन्द्रीय कार्यालय भवन बनाउन एमाले पुनर्जागरण अभियानको माग

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले) पुनर्जागरण अभियानले तत्कालीन पार्टी कार्यालयस्थल मदननगर बल्खुमै पार्टी सदस्य र शुभेच्छुकको सहयोगमा केन्द्रीय कार्यालय भवन निर्माण गर्न माग गरेको छ।

‘एमाले पंक्तिको स्वाभिमान, आफ्नै जमिनमा गरौँ कार्यालय निर्माण’ शीर्षकमा शुक्रबार वक्तव्य जारी गर्दै अभियानले यस्तो माग गरेको हो। च्यासल ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा सञ्चालित कार्यालय सरकारको पछिल्लो सूचनाले हट्ने सम्भावना बढेपछि अभियानमा क्रियाशीलहरूका तर्फबाट वक्तव्य जारी गरिएको राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाहीले बताए। 

मदननगरमा रहेको जग्गा पार्टीको ऐतिहासिक, भावनात्मक तथा संगठनात्मक बिरासतसँग जोडिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘नेकपा एमालेको इतिहास, बिरासत र संगठनात्मक पहिचानसँग प्रत्यक्ष सम्बन्ध रहेको आफ्नै जग्गा हुँदाहुँदै विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमा कार्यालय सञ्चालन गर्नु उपयुक्त देखिँदैन। यसले पार्टीको आत्मनिर्भरता, संस्थागत गरिमा र सार्वजनिक छविमा समेत नकारात्मक प्रभाव पारिरहेको देखिन्छ।’

अभियानले पार्टीले आफ्नै जमिनमा भवन निर्माण गर्दा स्वाभिमान बढ्ने भन्दै यसलाई नयाँ पुस्ता र जनतासँग जोडिने अभियानका रूपमा सञ्चालन गर्न पनि ध्यानाकर्षण गरेको छ।

सुझावित समाचार