जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा लुकिछिपी यार्सागुम्बा टिप्न गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँपालिकाको आधिकारिक सूचनाविना यार्सागुम्बा संकलन गर्न पाटनतर्फ जाँदै गरेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बिहीबार मुगुम कार्मारोङ गाउँपालिकास्थित विभिन्न पाटन क्षेत्रमा लुकिछिपी यार्सागुम्बा संकलन गर्न जाँदै गरेका जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं. १ र २ का एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले विनाअनुमति पाटन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘यसअघि पनि जिल्ला प्रहरी कार्यालय मुगु तथा सम्बन्धित प्रहरी चौकीहरूको समन्वयमा यार्सागुम्बा चोरी गर्न गएका धेरै व्यक्तिलाई पक्राउ गरी सम्बन्धित स्थानमा फर्काइसकेका छौँ,’ डिएसपी थपलियाले भने । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकिएको प्रहरीले जनाएको छ ।
हरेक वर्ष यार्सागुम्बा संकलनका लागि मुगुम कार्मारोङ गाउँपालिकाले सूचना जारी गर्दै आएको भए पनि यस वर्ष हालसम्म कुनै आधिकारिक सूचना प्रकाशित गरिएको छैन ।
यसअघि यार्सागुम्बा संकलनका लागि विभिन्न छिमेकी जिल्लाबाट अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाइबुझाइ गरेर सम्बन्धित ठाउँमा फर्काउने गरिएको थियो । तर, यसपटक पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी बयान लिएपछि हाजिरी जमानीमा छाडिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा मुगुका यार्सापाटन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटन कहिले खुलाउने भन्नेबारे हालसम्म कुनै निर्णय सार्वजनिक गरिएको छैन ।
मुगुम कार्मारोङ गाउँपालिकाले सूचना जारी गर्दै आधिकारिक रूपमा यार्सापाटन नखुल्दासम्म कसैलाई पनि संकलनका लागि पाटन क्षेत्रमा प्रवेश नगर्न आग्रह गरिसकेको छ ।
जिल्लाका दुई दर्जनभन्दा बढी वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, जाजरकोट, रुकुम, रोल्पा, अछाम, बझाङलगायत जिल्लाबाट संकलक तथा खरिदकर्ताहरू पाटन क्षेत्रमा पुग्ने गरेका छन् ।