शिक्षक भर्नाको विषयलाई लिएर शिवनाथ- ४, पिपलकोट माविका प्रअमाथि कालोमोसो दलेर सार्वजनिक बेइज्जत गरिएको छ। केही दिनअघि शिक्षक भर्नाको विषयमा विवाद भएको र त्यही विषयलाई लिएर बुधबार दिउँसो प्रअ दामोदर ओझालाई कालोमोसो दलेर जुत्ताको माला लगाएको थाहा भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।
उक्त विद्यालयमा महिला राहत शिक्षक भर्ना गर्ने क्रममा स्थानीयलाई पास गराइने आश्वासन दिएको र उक्त व्यक्ति शिक्षकको प्रथमपत्रमै अनुत्तीर्ण भएको कुरा सुन्नमा आएको उनले बताए। त्यसपछि सोही समूहले शिक्षकमाथि दुर्व्यवहार गरेको बुझे पनि विस्तृत कुरा थाहा नभएको साउदले बताए।
शिक्षक ओझाले भने यस विषयमा कुरा गर्न चाहेनन्। उनलाई बारम्बार सम्पर्क गर्दासमेत कालोमोसो दलेको विषयका बोल्न चाहेनन्।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले दुर्व्यवहार गरिएका शिक्षकले प्रहरीलाई राति अबेरसम्म कुनै सूचना नदिएको बताए। उनले स्थानीय प्रहरीमार्फत घटनाबारे बुझ्ने प्रयास भइरहेको जानकारी दिए।
कालोमोसो दल्ने समूहले शिक्षक भर्ना गरिदिन्छु भन्दै स्थानीय एक महिलामाथि शिक्षक ओझाले दुर्व्यवहार गरेको र उनलाई उत्तीर्ण गराउन नसकेपछि कालोकोसो दलिएको स्थानीय युवा विनोद महताले सामाजिक सञ्जालमा लेखेका छन्।