दीपेन्द्र र सन्दीपको आइसिसी वरीयतामा छलाङ

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण
  • आइसिसीले मे महिनाको सार्वजनिक गरेको वरीयतामा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अलराउन्डर वरीयतामा १२औँ र सन्दीप लामिछानेले बलिङमा १५ स्थान सुधारे 

नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी वरीयतामा छलाङ मारेका छन् । दीपेन्द्रसिंहले एकदिवसीय अलराउन्डर वरीयतामा एकैपटक १२औँ स्थान सुधार गरेका छन् । १४८ रेटिङ अंकक साथ उनी ३१औँ स्थानमा उक्लिएका छन् । उनीभन्दा अगाडि भारतका हार्दिक पान्ड्या छन् । न्युजिल्यान्डका ग्लेन फिलिप्स दीपेन्द्रसिंहभन्दा एक स्थान तल छन् ।

यसैगरी, सन्दीप आइसिसी एकदिवसीय बलिङ वरीयतामा एकैपटक १५ स्थानमाथि पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मे महिनाका लागि सार्वजनिक गरेको तीनवटै फर्म्याटका वरीयता सार्वजनिक गरेको हो । नयाँ वरीयताअनुसार सन्दीप ४३औँ स्थानमा रहे । एकदिवसीय बलिङमा नेपालबाट उच्च स्थान प्राप्त गर्ने उनी मात्र एक्ला खेलाडी हुन् ।  सन्दीपले एकदिवसीय अलराउन्डर वरीयतामा सात स्थान सुधार गरेका छन् । उनी अहिले ७१औँ स्थानमा छन् । नेपालका करण केसी भने यस विधामा १० स्थान पछि परेका छन् । उनी एकैपटक ८१ बाट ९१औँ स्थानमा सीमित भए । यस विधामा ललित नारायण राजवंशीले तीन स्थान गुमाए ।

त्रिवि मैदानमा मंगलबार मात्रै सकिएको नेपाल, युएई र ओमानबिचको त्रिकोणात्मक आइसिसी विश्वकप क्रिकेट लिग २ मा सन्दीपले चारैवटा खेलमा विकेट लिएका थिए ।

आइसिसीले टी–२०आई अलराउन्डर वरीयतामा दीपेन्द्रसिंहको स्थान परिवर्तन भएको छैन । उनी अहिले २४५ रेटिङका साथ चौथो स्थानमै छन् । शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा छन् । उनले ३२८ रेटिङ अंक जोडेका छन् । दीपेन्द्रभन्दा अगाडि पाकिस्तानका सैम आयुब तथा भारतको हार्दिक पाण्ड्या छन् । यस विधामा नेपालका ओपनर तथा स्पिनर कुसल भुर्तेल पनि २३औँ स्थानमा रहे । उनले १४९ अंक जोडेका छन् । युएईविरुद्धको सिरिजमा गुमाएका रोहित पौडेल अलराउन्डर वरीयताको ४५औँ स्थानमा छन् । क्यानले एकदिवसीय र टी–२० फर्म्याटका फरक कप्तान चयन गर्दा पौडेलले टी–२० टोलीको कप्तानी गुमाएका थिए । यद्यपि, उनकै कप्तानमा नेपालले ब्याक टु ब्याक आइसिसी टीं–२० विश्वकप क्रिकेट खेलेको थियो । टी–२० अलराउन्डरमा गुल्सन झा ७५औँ स्थानमा छन् ।

विश्वकप लिग २ मा सन्दीपका आठ विकेट
आइसिसी विश्वकप लिग २ मा सन्दीपले समग्रमा चार खेलमा आठ विकेट हात पारेका थिए । उनले युएईविरुद्ध पहिलो खेलमा दुई तथा दोस्रो खेलमा तीन विकेट हात पारे । यसैगरी, ओमानसँगको पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिन सफल भए ।

आइसिसी विश्वकप लिग २ मा सय विकेट लिने उनी पहिलो बलर बनेका छन् । उनले युएईविरुद्धको दोस्रो खेलमा विकेट लिँदै विश्वकप लिग २ मा सय विकेट लिने रेकर्ड बनाएका थिए । एकदिवसीय खेलमा सबैभन्दा छिटो १५० विकेटले सूचीको दौडमा उनी छन् । अस्ट्रेलियाका मिचेल स्टार्कले विश्व कीर्तिमानी रूपमा ७८ एकदिवसीय खेलमा १५० विकेट लिएका थिए । सन्दीपले ७० एकदिवसीय खेलमा १४३ विकेट हात पारेका छन् । अब उनलाई स्टार्क रेकर्ड बराबरी गर्न सात विकेट आवश्यकता छ ।

आइसिसीका अनुसार सन्दीपले १५ स्थान सुधार गर्दा ४८८ रेटिङ अंक प्राप्त गरेका छन् । उनले सन् २०२३ मा नेपालमै भएको विश्वकप क्रिकेट लिग २ मा पपुवा न्युगिनीविरुद्धको उत्कृष्ट प्रदर्शन गरी ५४३ अंक बटुलेका थिए । आइसिसीले चालू लिग २ को प्रदर्शन आधार समावेश गरेको छैन ।

सन्दीपभन्दा अगाडि पाकिस्तानका नसिम साह, बंगलादेशका मुस्ताफिजुर रहमान, न्युजिल्यान्डका माइकल ब्रासवेल छन् । यसैगरी, सन्दीपभन्दा पछाडि आयरल्यान्डका ग्राहम हुमे, जिम्बावेका सिकन्दर राजा र नेदरल्यान्डका आर्यन दत्त छन् । टी–२० फर्म्याटको बलिङ वरीयतामा भने सन्दीपले दुई स्थान गुमाएका छन् । उनले अहिले ५५औँ स्थानमा झरेका छन् । यसअघि उनी ५३औँ स्थानमा थिए ।

ललित र करणको वरीयता खस्कियो
सन्दीपले एकदिवसीय बलिङ वरीयतामा एकैपटक १५ स्थान सुधार गर्दा नेपालका स्पिनर ललित राजवंशी तथा फास्टबलर करण केसीले स्थान गुमाएका छन् । नयाँ वरीयताअनुसार ललितले चार स्थान गुमाएका छन् । अघिल्लोपटक उनी ६१औँ स्थानमा थिए । योपटक उनी ६५औँ स्थानमा सीमित भएका छन् । ललितको एक स्थानपछाडि इंग्ल्यान्डका सकिब महमद छन् । यसैगरी, पाकिस्तानका मोहम्मद वासिम ललितभन्दा दुई स्थान पछाडि रहेका छन् ।

नेपालका अलराउन्डर तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीको वरीयता यथावत् रह्यो । उनको बलिङ वरीयता ८३औँ रहेको छ । उनले ३९८ वरीयता अंक पाएका छन् । नेपालका प्रमुख फास्टबलर करणले पाँच स्थान गुमाए । उनी अहिले ९०औँ स्थानमा छन् । यसअघिको वरीयतामा करण ८५औँ स्थानमा रहेका थिए । करणले आइसिसी विश्वकप लिग २ मा तीन खेलमा पाँच विकेट मात्र लिएका थिए । ओमानसँग १०२ रनले पराजित भएको प्रतिस्पर्धामा उनी विकेटविहीन हुँदा ६१ रन खर्चेका थिए । 

सुझावित समाचार