पाथीभरामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालन

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल टेलिकमले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोर–जी सेवा सोमबारबाट सञ्चालनमा ल्याएको जनाएको हो ।

विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभरा माताको दर्शन गर्न जाने श्रद्धालु भक्तजनका साथै मन्दिरआसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरिजंघा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

‘अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिरपरिसरमा श्रद्धालुले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्नेछन्,’ टेलिकमले भनेको छ । सञ्चारको पहुँचबाट टाढा रहेको सो जिल्लाका नगरपालिका तथा गाउँपालिकाका बासिन्दा सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने टेलिकमको विश्वास छ ।

उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपत्कालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महŒवपूर्ण भूमिका खेल्ने बताइएको छ । त्यसैगरी, सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीलाई क्युआर कोडमार्फत भुक्तानीलगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवर्द्धन गर्न सहज हुने अपेक्षा राखिएको छ ।

See More On

सुझावित समाचार