बिपी राजमार्गको रोशीखण्डमा जोखिम बढेसँगै अनिश्चितकालका लागि रातको १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म भकुन्डेबेँसीदेखि खुर्काेटसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलबार बेलुकादेखि नै बाटो बन्द गर्न थालिएको जानकारी दिए। उनका अनुसार अब अर्को सूचना जारी नहुँदासम्म साँझ ५ देखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द गरिनेछ।
सोमबार बिचबाटोमा पुगेर एउटा गाडी बिग्रिएपछि अरू गाडी पनि फसेको र गाडी बनाउँदाबनाउँदै रोशी खोलामा बाढी आएको भन्दै उनले त्यो अवस्था फेरि उत्पन्न नहोस् भन्नका लागि यो निर्णय गरिएको बताए।
‘आजभोलि मौसम कति वेला पानी पर्छ भन्ने टुंगाे नलाग्ने खालको छ। त्यसैले बिपी राजमार्गको रोशी खण्डमा बाढीको जोखिम उच्च छ। कच्ची भएकाले यो सडक यात्राका लागि असुरक्षित छ। त्यही भएर हामीले राति गाडी चलाउन बन्द गर्याैँ,’ अधिकारीले भने, ‘मौसम विज्ञान विभागले तत्काल पानी पर्दैन भनेपछि वस्तुस्थिति हेरेर मात्रै थप निर्णय गर्छाैँ।’
भारी वर्षाका कारण सोमबार रोशी खोलामा बाढी आई बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध हुँदा सयभन्दा बढी सवारीसाधन अलपत्र परेका थिए। ती सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर मंगलबार काठमाडौं पठाइएको छ। यस्तै, बाढीमा फसेका ८९ जनालाई सोमबार राति उद्धार गरिएको थियो।
०८१ सालमा आएको बाढी–पहिरोले बिपी राजमार्ग चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न ठाउँमा सडक बगाएको थियो। बाढीले बगाएको राजमार्ग विभिन्न चार खण्डमा पुनर्निर्माण भइरहेको छ। सडक पुनर्निर्माणको अवस्थामा यातायात सञ्चालनका लागि रोशी खोलाको किनारैकिनार भएर बगरमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। रोशी खोलाको बहाब बढ्नेबित्तिकै डाइभर्सन बगाउने गरेको छ।