संवैधानिक परिषद् बैठकका लागि चार सदस्य अनिवार्य

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत परिषद्को बैठक सञ्चालन र निर्णय प्रक्रियालाई स्पष्ट पार्दै गणपूरक संख्या निर्धारण गरेको छ। नयाँ व्यवस्थाअनुसार परिषद्को बैठक बस्न कम्तीमा चार सदस्यको उपस्थिति अनिवार्य हुनेछ।

६ सदस्यीय परिषदमा अध्यक्षसहित कम्तीमा तीन सदस्य उपस्थित भएमा बैठकको गणपूरक संख्या पूरा भएको मानिने प्रावधान राखिएको छ। चार सदस्य उपस्थित हुँदा उक्त संख्या बहुमतका रूपमा गणना गरिने व्यवस्था गरिएको छ।

अध्यादेशले निर्णय प्रक्रियाबारे पनि स्पष्टता दिएको छ। अध्यक्षसहित कम्तीमा तीन सदस्यले गरेको निर्णयलाई परिषद्को आधिकारिक निर्णयका रूपमा मान्यता दिइनेछ। यसले बैठकमा सीमित उपस्थितिमा पनि निर्णय गर्न सकिने कानुनी आधार तयार गरेको छ।

त्यसैगरी, परिषद्का सबै ६ सदस्य उपस्थित भएको अवस्थामा प्रस्तावमाथि मतदान हुँदा मत बराबरी भए अध्यक्षले समर्थन गरेको पक्षलाई बहुमत मानिने व्यवस्था गरिएको छ। बैठकमा सर्वसम्मति हुन नसकेमा बहुमतका आधारमा निर्णय लिन सकिने प्रावधान पनि सुनिश्चित गरिएको छ।

संवैधानिक परिषद् संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने अधिकार भएको उच्चस्तरीय निकाय हो, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ।

सुझावित समाचार