सर्लाहीको बागमतीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार बागमती नगरपालिका– २, धरहरा चोकमा पैदलयात्री धरहरा टोल बस्ने ७५ वर्षका हरिबहादुर अधिकारीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।
भारतीय नम्बर बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध अधिकारीको उपचारको क्रममा एल.एस. न्युरो अस्पताल बारा पुर्याएपछि मृत्यु भएको हो ।
घाइते वृद्धलाई तत्काल उपचारका लागि बारा पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले घाइते अधिकारीलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । दुर्घटनामा परेका अधिकारीको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक गोडैता नगरपालिका– २, निवासी २० वर्षका शिवम कुसवाहालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।