मालीमा किन असफल भइरहेको छ विद्रोहीविरुद्धको कारबाही ?

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण
  • विद्रोहीविरुद्धको लडाइँमा सरकारी संयन्त्र कमजोर देखिएपछि सशस्त्र समूह स्थानीय क्षेत्रमा प्रमुख शक्तिका रूपमा देखा परेका छन्

माली सन् २०१२ देखि निरन्तर राजनीतिक उथलपुथलबिच गुज्रिरहेको छ । १४ वर्षअघि केन्द्रमा सैन्य कु भएको थियो भने देशको पश्चिमी भागलाई सशस्त्र समूहले कब्जा गरेका थिए । त्यसयता संक्रमणकालीन सरकार गठन गर्ने बारम्बारका प्रयास असफल भए । असफलतामाझ गत वर्ष मे महिनामा सैन्य सरकारले सबै राजनीतिक दललाई विघटन गर्दै प्रतिबन्धको घोषणा गर्यो । 

त्यसअतिरिक्त मालीले फ्रान्स, अमेरिका र पछिल्लो समय रुसजस्ता बाह्य शक्तिको सैन्य हस्तक्षेपको सामना गर्यो । ती सबै शक्तिले मालीमा बढ्दो अतिवादी शक्तिलाई नियन्त्रणमा लिने प्रयासमा हस्तक्षेप गरेको दाबी गरे । बाह्य शक्ति तथा देशकै सरकारी सेनाको प्रयासका बाबजुद अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित समूहको प्रभाव झन् बढिरहेको छ । विद्रोहीको बढ्दो शक्तिबिच गत महिना (अप्रिल)को अन्त्यमा सैन्य सरकारविरुद्ध पृथकतावादी र मुस्लिम अतिवादी (जिहादी) समूहले देशभर समन्वित आक्रमण गरे । आक्रमणमा रक्षामन्त्री जनरल सादियो कामारा नै मारिए । 

पछिल्लो एक दशकको अवधिमा भएका विदेशी हस्तक्षेप प्रायः स्थलमा के भइरहेको छ भन्ने राम्ररी नबुझीकनै कार्यान्वयन गरिए । अतिवादी समूहले देशमा व्याप्त भूमि विवाद, भ्रष्टाचार र स्रोतका लागि कायम प्रतिस्पर्धाजस्ता मुद्दालाई उठाएर स्थानीयस्तरमा वैधता हासिल गरिरहेका छन् । सरकारी संयन्त्र तथा सुरक्षा बलको कमजोरीले ‘जमात नुसरत अल–इस्लाम वाल–मुस्लिमिन (जेएनआइएम)’ र ‘इस्लामिक स्टेट इन ग्रेटर सहारा(आइएसजिएस)’ जस्ता समूहको शक्ति सुदृढ भइरहेको छ । यी समूहले कहिले गठबन्धन बनाएर र त कहिले आफ्ना मुद्दामा स्थानीय गुनासोलाई जोडेर आफ्नो स्वीकार्यता बढाउँदै गए । त्यस क्रममा समूहले कहिलेकाहीँ वैचारिक उद्देश्यभन्दा तत्कालीन मुद्दालाई प्राथमिकता दिएको पाइन्छ । हामीले गरेको अध्ययनमा पनि सहेल क्षेत्रमा सशस्त्र समूह अहिले सरकारी संयन्त्र पछि हटेपछि उत्पन्न रिक्तता भर्दै स्थानीय क्षेत्रमा प्रमुख शक्तिका रूपमा देखा परेको पायौँ । 

फ्रान्स, अमेरिका र रुसजस्ता बाह्य शक्ति मुख्यतः आतंकवाद नियन्त्रण र राज्य निर्माणमा केन्द्रित हुँदा समूहले स्थानीय शासनमा पुर्याइरहेको योगदानलाई बेवास्ता गरेको पाइयो । सशस्त्र समूहले स्थानीय क्षेत्रमा प्रायः अत्यावश्यक सेवा प्रदान गर्दै स्थानीय वैधता प्राप्त गरेको कुरा यी शक्तिको ध्यानमा नगएको पाइयो । स्थानीयस्तरमा सशस्त्र समूहको भूमिकालाई मान्यता दिनुको अर्थ उनीहरूलाई स्वीकार गर्नु वा वैधता दिनु होइन । यद्यपि, यो वास्तविकतालाई बेवास्ता गर्दा पटकपटक असफलता हात लागिरहेको छ । अर्थात्, जब हस्तक्षेप खालि सैन्य कारबाहीमा मात्र केन्द्रित हुन्छ, तब आममानिसले ती समूहलाई किन स्विकारिरहेका छन् भन्ने कुरामा अन्योल सिर्जना हुने जोखिम बढ्छ । 

हामीले गरेको अध्ययनको निष्कर्षले सशस्त्र समूहलाई पराजित गर्ने वा केन्द्रीकृत राज्य नियन्त्रण पुनर्स्थापित गर्ने कुरामा मात्र जोड दिने नीतिले काम नगर्ने देखाएको छ । अध्ययनले शासन, वैधता र स्थानीय निकायका सन्दर्भमा गैरराज्य सशस्त्र समूहलाई पनि एकीकृत गर्ने मिहिन दृष्टिकोण बढी उपयोगी हुने देखाउँछ । गैरराज्य सशस्त्र समूहले कोलम्बिया, सिरिया र दक्षिण सुडानजस्ता देशमा पनि शासन गरेका उदाहरण पाइन्छन् ।

शक्ति अभ्यासकर्ताका रूपमा सशस्त्र समूह
मालीमा सशस्त्र समूह केवल युद्ध गर्ने छापामार मात्र होइनन्, देशको ठुलो भूभागमा तिनले जटिल भूमिका निभाउँछन् । मालीभित्र कार्यरत समूहको सही संख्या अनुमान गर्न कठिन छ । सबैभन्दा ठुलो समूह जमात नुसरत अल–इस्लाम वा अल–मुस्लिमिन पाँच निकायको गठबन्धन हो । यसले आफूसँग देशभर दश हजारभन्दा बढी लडाकु रहेको दाबी गर्छ ।

अल्जेरियाको सिमानानजिक लामो समयदेखि राज्यको उपस्थिति छैन् । सशस्त्र समूहहरूले यही शून्यतामा प्रवेश गरेका छन् । विद्रोहीले स्थानीय विवाद समाधान गर्नेदेखि विभिन्न नियम लागू गर्छन् । सो क्षेत्रका बासिन्दाका लागि ‘राज्य’को अनुभव गराउने निकाय भनेकै तिनै समूह हुन् । 

दैनिक असुरक्षाका साथ बाँचिरहेका समुदायका लागि यी कार्य अमूर्त नभई तिनको दैनिक जीवनलाई आकार दिने प्रक्रियाको हिस्सा हो । हामीले गरेको अध्ययनले सशस्त्र समूहको उपस्थिति स्विकार्नुको अर्थ आमजनसंख्याले यी समूहसँग सहमत जनाउँछन् वा तिनका विचारधारालाई समर्थन गर्छन् भन्ने नरहेको देखियो । तथापि, जब मानिससँग विकल्प नै बाँकी रहँदैन, उनीहरू जस्तो कठिनाइमा पनि अनुकूलन हुने प्रयास गर्छन् ।

बाँच्न आवश्यक भएकाले उनीहरूले सशस्त्र समूहका नियम पालना गर्छन् । अर्थात्, बाँच्न नियम पालना गर्नु र समूहका विचार समर्थन गर्नुको भिन्नता महत्वपूर्ण छ । यही कुराले यी समूहलाई हराउन किन यति गाह्रो भइरहेको छ भनेर यथार्थलाई व्याख्या गर्न सघाउँछ । तिनको शक्ति हतियारबाट मात्र नभई स्थानीय वास्तविकतालाई आफ्नो गतिविधिमा कतिसम्म जोडे भन्ने कुराले निर्धारण गर्छ । 

असफल सैन्य कारबाही 
मालीमा सशस्त्र समूहविरुद्ध चालिएका अन्तर्राष्ट्रिय प्रयास धेरै हदसम्म यी समूहविरुद्ध लड्न र मालीको सरकारी प्रभाव सबै भेगमा पुनर्स्थापित गर्ने कुरामा केन्द्रित छ । यसका पछाडि राम्रो नियत भए पनि सैन्य हस्तक्षेपका क्रममा प्रायः आवश्यक विषय बेवास्तामा पर्छन् । जस्तो– सन् २०१३ मा फ्रान्सले सैन्य हस्तक्षेप गर्यो । फ्रान्सेली सेनाले चलाएको ‘अप्रेसन सर्भल’को क्रममा देशको उत्तरी भागमा इस्लामवादीलाई अगाडि बढ्नबाट नियन्त्रण फिर्ता लिन माली सेनालाई मद्दत गर्यो । उद्देश्य, अतिवादी फौजलाई राजधानी बामाकोतर्फ अगाडि बढ्नबाट रोक्नु थियो । 

तर, फ्रान्सको हस्तक्षेपले द्वन्द्व समाप्त भएन । धेरै लडाकु ग्रामीण क्षेत्रतर्फ सरे, जहाँ राज्यको उपस्थिति कम थियो । त्यहाँ विद्रोहीले स्थानीय समुदायसँग सम्बन्ध निर्माण गरे । गाईवस्तु पालन आम्दानीको प्रमुख स्रोत रहेको मध्य मालीमा पहिलेदेखि फुलानी र डोगोन समुदायबिच हिंसा हुने गर्थ्यो । अतिवादी समूहले यो हिंसाको मध्यस्थता गरेर आफू बलियो हुने माध्यम पायो । विद्रोहीले स्थानीय गतिशीलता आफ्नो मजबुतीका लागि प्रयोग गर्दा राज्यका संस्थालाई बलियो बनाउने प्रयासमा थप धक्का लाग्यो । केही ठाउँमा सरकारी सुरक्षा बल अप्रभावी भएकाले अपमानजनक हार व्यहोरे । यो वास्तविकता देखेका आममानिस जुन शक्तिले आफ्नो क्षेत्रमा सुरक्षा प्रदान गर्न सक्छ, उही शक्तितर्फ फर्किन लागे, भलै त्यो शक्ति सशस्त्र समूह नै किन नहोस् । 

त्यसमाथि बाह्य संलग्नता बढ्दो रूपमा खण्डित रह्यो । बढ्दो पश्चिमविरोधी भावनाबिच फ्रान्सको फिर्ती र रुसी–सम्बद्ध सेनाको आगमनले कहिलेकाहीँ विरोधाभाषी हस्तक्षेप सिर्जना गर्यो । जति फरक शक्ति भित्रिन्छन्, त्यति नै तिनको एजेन्डा फरक हुन्छन् । त्यसमाथि तिनको उपस्थिति सधैँ बढ्दो सुरक्षामा अनुवाद हुँदैन । केही अवस्थामा यसले तनावलाई झन् बढाइदिन्छ र पहिले नै कमजोर संस्थामाथिको विश्वासलाई थप कमजोर बनाइदिन्छ । यसले परिस्थिति थप खराब बनाउन सक्छ । बिचमा फसेका आमनागरिकले दैनिक कठिन छनोटको सामना गर्नुपर्छ । 

न्यायको पहुँचमा सुधार आवश्यक
अध्ययनले स्थानीय वास्तविकतालाई सुनेर थप आधारभूत दृष्टिकोण सुरु गर्नुपर्ने देखाउँछ । यस दृष्टिकोणले सशस्त्र समूहलाई पहिलो त जरा गाड्न सहज बनाउने अवस्था सम्बोधन गर्नुपर्ने कुरामा जोड दिइन्छ । यसको अर्थ देशका सबै भागमा न्याय र सुरक्षामा पहुँच सुधार गर्नुपर्छ । साथै स्थानीय संस्थालाई थप सबल बनाउने र आममानिसको गुनासोलाई गम्भीरतापूर्वक सुन्ने प्रवृत्ति बढाउनुपर्ने हुन्छ । अर्थात्, वैधता माथिबाट थोपरिएको नभई भुइँ तहबाट माथि निर्माण गरिएको हुनुपर्छ । 

मालीको अनुभवले सैन्य कारबाहीले हासिल गर्न सक्ने उपलब्धिको स्पष्ट सीमा रहेको पाठ दिन्छ । अर्थात्, जबसम्म सैन्य हस्तक्षेपले स्थानीय शासन र आममानिसले बाँच्नका लागि गर्नुपर्ने दैनिक वास्तविकतालाई बेवास्ता गर्छ, तिनले स्थायी परिवर्तन ल्याउने सम्भावना न्यून रहन्छ । परिवर्तनविना सशस्त्र समूहलाई निर्मूल गर्ने उद्देश्य हासिल हुन गाह्रो पर्छ । किनभने, धेरै स्थानमा उनीहरू आममानिसको जीवनको हिस्सा बनेका छन् ।

(सेमपिज्जा युनिभर्सिटी मोहम्मेद फोर्थ पोलिटेनिकका सहप्राध्यापक हुन् भने दियाए सोही विश्वविद्यालयका पिएचडी उम्मेदवार हुन् ।) 

द कन्भर्सेसनबाट

सुझावित समाचार