कांग्रेस कार्यसम्पादन समिति बैठक : उच्चस्तरीय कूटनीतिक संवादमार्फत सीमा विवाद समाधान गर्न सुझाव

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्न भारत र चीनलाई आग्रह गरेको छ । भारत र चीन दुवै छिमेकीसँग नेपालको ऐतिहासिक, बहुआयामिक र आत्मीय सम्बन्ध भएको वास्तविकतालाई आत्मसात् गर्दै उच्चस्तरीय कूटनीतिक वार्ता र संवादमार्फत सीमा विवाद समाधान गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भारत र चीन दुवै देशले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनेछन् भन्ने विश्वास लिएको छ । सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ । कांग्रेसले ऐतिहासिक तथ्य, नक्सा, अभिलेख, दस्तावेज र प्रमाणका आधारमा थप प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्न सरकारलाई अपिल गरेको छ । सीमासम्बन्धी अत्यन्त संवेदनशील विषयमा दलगत दृष्टिकोण र राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति र एकता कायम गरी साझा धारणा हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

कांग्रेसले तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत महाकाली नदीपूर्वका सबै भूभाग नेपालको अविभाज्य भूमि भएकाले नेपाली भूमिको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपालको सहमति र जानकारीविना दुई देशबिच भएको सहमतिले ऐतिहासिक यथार्थतालाई बदल्न सक्दैन भन्दै त्यसलाई तत्काल सच्याउन आग्रहसहित भारत र चीन दुवै सरकारलाई कूटनीतिक नोट पठाएको स्मरण गराएको छ ।

कांग्रेसले सुकुमवासी र भूमिहीनमाथि सरकारले अमानवीय र क्रूर हर्कत गरेको भन्दै भर्त्सना गरेको छ । क्रूर व्यवहार तत्काल बन्द गर्न र वास्तविक भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्दा ‘रुल बाई ल’ (शक्ति र दमनको शासन) होइन, ‘रुल अफ ल’ (कानुनको शासन) अनुसार व्यवहार गर्न माग गरेको छ ।

अधिवेशन गर्न नसकेका सबै भ्रातृ संगठन विघटन
कांग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठन विघटन गरेको छ । अधिवेशन नभएका सबै भ्रातृ संघहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था गर्न सभापति गगन थापालाई जिम्मा दिएको छ । म्याद सकिएका भ्रातृ संगठनले गरेका निर्णय र मनोनयन स्वतः अवैध हुने कांग्रेसको निर्णय छ । ‘पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदासमेत अधिकांश भ्रातृसंघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएकाले म्याद थपिरहनु आवश्यक नरहेको तथा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान् गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामासमेत दिइसकेको हुँदा तत्तत् भ्रातृसंघका केन्द्रीय समितिहरू स्वतः विघटन भएका छन् । साथै, म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयन पनि स्वतः अवैध भएका छन्,’ निर्णयमा भनिएको छ । तरुण दल, नेविसंघ, दलित संघ, महिला संघलगायतका भ्रातृसंघका केन्द्रीय समितिहरू स्वतः विघटन भएका छन् । थारू संघको हकमा भने आगामी १६ र १७ जेठमा महाधिवेशन तय भइसकेकाले समयावधि थप गरेको छ ।

कांग्रेसले सरकारले ल्याएका अध्यादेश र प्रतिनिधिसभा नियमावलीको मस्यौदालाई संविधान, नागरिक अधिकार र विधायिकी मनसायको आलोकमा सच्याउन आवश्यक अध्ययन गरी स्पष्ट धारणा निर्माण गर्न र संसद्मा प्रभावकारी उपस्थितिका लागि संसदीय दललाई निर्देशन दिएको छ ।

थापा र शर्माले खड्कासँग संवाद गर्ने
कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पार्टीभित्र देखिएको विवाद समाधानको विषयमा केन्द्रित भएर छलफल गर्ने भएका छन् । मंगलबार खड्कानिवासमै पुगेर छलफल गर्ने कांग्रेस सहमहाममन्त्री उदयशमशेर राणाले जानकारी दिए । उनका अनुसार कार्यसम्पादन समिति बैठकमा पार्टीलाई एकढिक्का राख्न संसद् अघि बढाउने विषयमा छलफल भएको थियो । राणाका अनुसार बैठकमा सभापति थापा र उपसभापति शर्मासहितका नेताहरूले आन्तरिक एकता कायम राख्दै अगाडि बढ्ने बताएका थिए । 

सुझावित समाचार