देवानीसंहिताको दफा २१४(२) बदर

एकल महिलाले पुनर्विवाह गरेमा अंशबापत पाएको सम्पत्ति नपाउने व्यवस्था खारेज

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सर्वोच्च अदालतले देवानीसंहितामा विधवाले पुनर्विवाह गरेमा अंशबापत पाएको सम्पत्ति पहिलेका छोराछोरी नत्र आफैँले पाउने व्यवस्था खारेज गरेको छ । संविधानले दिएको समानताको हकको प्रतिकूल भएको भन्दै सो व्यवस्था खारेजको फैसला भएको हो । संहिताको दफा २१४ मा विधवाले अंश लिई भिन्न हुन सक्ने व्यवस्था गरेको छ । यसैको उपदफा (२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैँले’ पाउने व्यवस्था छ ।

यो व्यवस्था विधवाको हकमा भए पनि विधुरको हकमा नभएको भन्दै रिट दर्ता भएको थियो । महिला, कानुन र विकास मञ्च र आफ्नोतर्फबाट समेत मीरा ढुंगानाले रिट ०७७ जेठमै रिट दर्ता गराएकी थिइन् । रिटमा मन्त्रिपरिषद्को कार्यालय, महिला मन्त्रालय, प्रतिनिधिसभाको कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो । यो संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक, १८ समानताको हक र धारा २५ सम्पत्तिको हकसँग बाझिने दाबी रिटमा थियो ।

यो व्यवस्था यी संवैधानिक व्यवस्थाका भावना, सिद्धान्त र मूल्य–मान्यताविपरीत निर्माण भएको र अस्तित्वमा रहिरहेको भन्दै यो भेदभावपूर्ण कानुनी व्यवस्थालाई अमान्य गर्न माग गरिएको थियो । यो मागलाई सदर गर्दै सर्वोच्चले संहिताको दफा २१४(२) समानताको हक प्रतिकूल रहेको भन्दै बदर गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले यो फैसला गरेको हो ।

सुझावित समाचार