अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सातापछि महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि बन्द प्रशिक्षण सोमबारदेखि सुरु गरेको छ । एन्फाले यसअघि १५ वैशाखदेखि तयारी सुरु गर्ने भनेको थियो । तर, मोफसलमा आयोजना भइरहेका महिला गोल्डकप फुटबल प्रतियोगिताका कारण एन्फाले तोकिएको समयमा खेलाडीलाई बन्द प्रशिक्षण सुरु गर्न सकेन । झापा र पोखरामा आयोजित महिला गोल्डकपमा क्लोज क्याम्पमा रहेका सबैजसो खेलाडीले प्रतिस्पर्धा गरेका थिए । खेलाडी मैदानमा व्यस्त रहँदा नै प्रशिक्षण सुचारु गर्न नसकिएको एन्फाले जनाएको छ ।
झापामा भएको पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकपमा नेपाल एपिएफले उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । आर्मी र एपिएफबाट खेलेका अधिकांश खेलाडी प्रारम्भिक ३५ घोषित टोलीमा थिए । यसको लगत्तै पोखरामा पनि पहिलो संस्करणको महिला गोल्डकप भयो । चार टोलीमा सहभागी भएको महिला गोल्कडपमा नेपाल पुलिस क्लबले एपिएफलाई पाखा लगाउँदै उपाधि हात पारेको थियो ।
यी दुवै गोल्डकपको समाप्तिसपछि एन्फाले आफ्नो सम्पर्कमा आएका खेलाडीलाई प्रशिक्षणमा डाकेको हो । पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मात्र उपस्थित भएका थिए । ‘पहिलो दिनमा कम खेलाडी आएका छन्, तर हामीलाई मंगलबारदेखि प्रशिक्षणमा संख्या बढ्ने आशा छ,’ एन्फाले भनेको छ, ‘अहिले मोफसलमा आयोजना भइरहेका महिला गोल्डकप प्रतियोगिता पनि सकिएका छन् । प्रतियोगितामा सहभागी भएका खेलाडी बिस्तारै प्रशिक्षणमा जोडिनेछन् ।’
एन्फाले साफ च्याम्पियनसिपका लागि महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई जिम्मेवारी दिएको छ । मुख्यप्रशिक्षक न्यौपानेले नै सुरुमा ३५ खेलाडीलाई क्लोज क्याम्पमा डाकेका हुन् । उनले गत साता प्रशिक्षण सुरु गर्ने भने पनि खेलाडी नहुँदा स्थगित भएको थियो । अहिले धेरैजसो खेलाडी मोफसलमै छन् । उनीहरू काठमाडौं आउन केही समय लाग्ने देखिएको छ । ‘पोखरामा चार टोली सहभागी हुँदा तत्काल खेलाडी प्रशिक्षणमा आउने सम्भावना भएन,’ एन्फाले भन्यो, ‘सबै खेलाडी आबद्ध हुँदा हामीलाई प्रशिक्षणमा कुनै समस्या हुनेछैन ।’
२६ वैशाखदेखि बुटवलमा प्रतियोगिता
एन्फाले साफ च्याम्पियनसिपका लागि क्लोज क्याम्प सुरु गरे पनि आगामी शनिबारदेखि बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदै छ । यस प्रतियोगितामा विभागीय टोलीले नै प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले बुटवलमा सहभागिता जनाउँदा प्रशिक्षणमा समस्या आउन सक्ने देखिन्छ । विशेषतः विभागीय टोलीले भाग लिँदा उसका खेलाडी प्रशिक्षणमा हुनेछैनन् । बुटवलमा सहभागी प्रतिस्पर्धा नगर्ने खेलाडीबिच मात्र प्रशिक्षण हुनेछ । यसैगरी, अहिले नेपाली राष्ट्रिय महिला टोलीका पहिलो सेटका खेलाडी पनि विदेशमा व्यावसायिक लिग खेलिरहेका छन् । प्रीति राई, रेनुका नगरकोटे, सरू लिम्बू, गोलरक्षक तथा पूर्वकप्तान अञ्जिला तुम्बापो सुब्बा विदेशी लिगमा छन् । मुख्य प्रशिक्षक न्यौपानेले तत्काल केही समयका लागि सिनियर खेलाडीको साथ पाउन गाह्रो छ ।
आयोजकलाई दुई साताभित्र खेलाडीको लिस्ट पठाउनुपर्ने
भारतले आगामी १२ देखि २२ जेठसम्म दक्षिण एसियाली महिला साफ च्याम्पिनयसिप प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगितामा ६ राष्ट्रले भाग लिनेछन् । आयोजक भारतसँगै भुटान, नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अन्तर्राष्ट्रिय नियमअनुसार प्रतियोगिता सुरु हुनु कम्तीमा दुई साताअघि खेलाडीको अन्तिम सूची पठाइसक्नुपर्नेछ । अन्तर्राष्ट्रिय नियमअनुसार प्रतियोगिताको पहिलो खेल सुरु हुनु १० देखि १४ दिनभित्र सहभागी राष्ट्रले आ–आफ्ना अन्तिम खेलाडीको सूची पठाउनुपर्ने हुन्छ । यसपटक एन्फासँग खेलाडीको नाम पठाउन कम्तीमा तीन साताको समय बाँकी छ । एन्फाले खेलाडी तयारीदेखि अन्तिम सूची आयोजकलाई पठाउन लगभग २१ दिनको समय छ । मुख्य प्रशिक्षक न्यौपानेले यस अवधिमा प्रशिक्षण गराएका खेलाडीबिच उत्कृष्ट प्रदर्शन गरेकालाई अन्तिम सूचीका रूपमा तयार गर्नेछन् । उनले सम्भवतः झापा, पोखरा र बुटवलमा खेलाडीको प्रदर्शनका आधारमा पनि खेलाडी छनोट गर्न सक्छन् ।
यसअघि महिला टोलीले फिफाको प्रत्येक संलग्नमा आयोजना हुने अन्तर्राष्ट्रिय फिफा फुटबल प्रतियोगितामा खेल्न पाएन । राष्ट्रिय खेलकुद परिषद्ले एन्फामाथि निलम्बन गरेपछि एन्फाले खेलाडीको सूची पठाउन पाएन । एन्फाले प्रशासनिक काममा समस्या भएको जनाउँदै अन्तिम समयमा फिफा सिरिजबाट नाम फिर्ता लिएको थियो । फिफाले तत्कालै नेपालको स्थानमा इन्डोनेसियालाई अवसर दियो । यसपटक एन्फाले खेलाडीलाई साफ च्याम्पियनसिपमा सहभागी गराउने उद्देश्यका साथ प्रशिक्षण सुरु गरिएको जनाएको छ । एन्फा निलम्बनमा पर्नुअघि खेलाडीले फिफा सिरिजका लागि तयारी थालेका थिए ।
६ पटकको उपविजेता नेपाल
महिला साफ च्याम्पियनसिपमा नेपालले एकपटक पनि उपाधि जित्न सकेको छैन । तर, प्रतियोगितामा नेपाल पनि उपाधि दाबेदार टोली नै हो । नेपाल अहिलेसम्म ६ पटक उपविजेता भएको छ । सन् २०१०, ०१२, ०१४, ०१९, ०२२ र ०२४ को संस्करणमा नेपालले फाइनल गुमाएको थियो । भारतले भने सर्वाधिक पाँचपटक उपाधि जितेको छ । बंगलादेशले लगातार पछिल्लो दुई संस्करण हात पारेको छ । दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिपको ‘ड्र’ निकाल्दा नेपाल समूह ‘ए’मा छ । तुलनात्मक रूपमा नेपाल सहज समूहमा छ । यस समूहमा नेपालले भुटान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’मा उपाधि दाबेदारहरू भारतसँगै बंगलादेश र माल्दिभ्स छन् । नेपालले १२ जेठमा भुटानसँग पहिलो खेल खेल्नेछ ।