- क्यानले आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालको खेल हुँदा चार सय रुपैयाँ राखेको थियो । त्रिवि क्रिकेट मैदानमा दर्शकको उपस्थिति पातलो भएपछि मंगलबार नेपाल र ओमानबिचको खेलका लागि दुई सय रुपैयाँ तोकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थित खासै नभएपछि मंगलबार नेपाल र ओमानबिचको खेलका लागि टिकट मूल्य आधा घटाएको छ । अहिले त्रिवि मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आयोजक नेपाल, युएई र ओमानबिच त्रिकोणात्मक एकदिवसीय सिरिज चलिरहेको छ ।
क्यानले सोमबार विज्ञप्तिमार्फत सिरिजको अन्तिम खेलमा दुई सय रुपैयाँ तिरेर दर्शकले खेल हेर्न सक्ने जनाएको छ । यसअघि नेपाल र युएईबिचको टी–२० आई सिरिजमा सात सय ५० रुपैयाँ टिकट मूल्य राखिएको थियो । त्यसपछि क्यानले विश्वकप लिग–२ का लागि चार सय टिकट मूल्य राख्यो । नेपालले ओमान र युएईसँग खेल्दा दर्शकले चार सय रुपैयाँ खर्चेका थिए । यसैगरी, युएई र ओमानबिचको दुवै खेलको टिकट मूल्य आधा घटाइएको थियो । मूल्य चर्को हुँदा नै लिग–२ मा क्यानले सोचेजस्तो दर्शकको उपस्थिति भएन । मूल्य बढी भएका कारण नै रंगशालामा समर्थक नपुगेको आलोचना क्यानले सामना गर्नुपरेको थियो ।
पूर्वखेलाडीदेखि समर्थकसम्मले टिकटको मूल्य धेरै भएको टिप्पणी गरेका थिए । यसअघि घरेलु मैदानमा नेपालको अन्तर्राष्ट्रिय खेल हुँदा दर्शक भरिएका हुन्थे । लगभग दुई वर्षपछि घरेलु खेलाडीले त्रिवि मैदानमा प्रतिस्पर्धा गरिरहँदा दर्शकको साथ पाउन सकेनन् । फ्लडलाइट र प्यारापिट जडानपछि त्रिवि मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज भएको हो । तर, १० हजार क्षमताको प्यारापिट भने खाली छ ।
गत शुक्रबार सार्वजनिक बिदामा नेपालकै खेल भए पनि दर्शक आएनन् । यस दिन क्यान र घरेलु खेलाडीले मैदानमा दर्शक भरिने आशा गरेका थिए । तर, अपेक्षाअनुसार दर्शक मैदानमा पुगेनन् । नेपालको खेलका वेला चौर भरिने त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनेपछि भएको अन्तर्राट्रिय खेलमा भने अधिकांश रित्तै हुन पुगे ।
दर्शक नआउँदा घरेलु खेलाडी पनि निराश
सिरिजअन्तर्गत युएईविरुद्धको दोस्रो खेलमा शतकीय इनिङ्स खेलेका नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले समेत दर्शक रंगशाला नपुग्दा आफूलाई दुःख लागेको बताएका थिए । खेलपछि ऐरी मात्र नभएर सोमपाल कामीले समेत घरेलु दर्शकलाई मैदानमा आएर नेपालको खेल हेर्न आग्रह गरेका थिए । ‘यस मैदानमा हामीले हजारौँ दर्शकमाझ प्रतिस्पर्धा गर्यौँ, तर अहिले निकै कम उपस्थिति भइरहेको छ,’ शतकीय इनिङ्स खेलेपछि आयोजित पत्रकार सम्मेलनमा ऐरीले भनेका थिए, ‘मैदानसम्म आएर हामीलाई समर्थन गर्न अनुरोध छ ।’
घरेलु मैदानमा दर्शकको उपस्थितिमा प्रतिस्पर्धा गर्दा रमाइलो लाग्ने बताएका थिए । ‘पहिला दर्शक आउनुहुन्थ्यो । अहिले टी–२० खेलमा पनि आउनुभएन, विश्वकप लिग–२ मा पनि आउनुभएन । खै के भएको हो, थाहा छैन । हामी खेलाडीलाई दर्शक आउनुहुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘दर्शक हुनुभयो भने एकदमै सपोर्ट हुन्छ ।’
अहिलेसम्म सिरिजका तीन खेल खेल्दा नेपालले दुई खेलमा जित र एक खेलमा हार निकालेको छ । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा युएईमाथि डकवर्थ लेविसअनुसार ६ रनले नेपालले बाजी मारेको थियो । क्यानले आगामी शृंखलाका लागि टिकट मूल्य समायोजन गर्ने कि नगर्नेबारे कुनै बताएको छैन ।