जिसस झापा प्रमुखकै सहकारीले गर्‍यो कृषि अनुदान दुरुपयोग : खोर छ बाख्रा छैनन्, अनुदान लिएर खेती गर्नै छाड्यो सहकारीले

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला समन्वय समिति (जिसस) झापाका प्रमुख विश्वनाथ बराल अध्यक्ष रहेको सहकारीले सरकारी अनुदानको चरम दुरुपयोग गरेको पाइएको छ । दमक नगरपालिका– ३, आमचोकस्थित मानसरोवर कृषि सहकारीले कोशी प्रदेश सरकार र कृषि ज्ञान केन्द्र झापाबाट पाँच वर्षमा प्राप्त गरेको एक करोड २९ लाख २१ हजार अनुदान बालुवामा पानी हालेसरह भएको हो ।

एमाले नेतासमेत रहेका बरालको पहुँचका आधारमा सो सहकारीले आर्थिक वर्ष ०७५/०७६ देखि ०७८/०७९ सम्म निरन्तर अनुदान लिएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा मातहतको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाउँछ ।

अनुदान प्राप्त गरेपछि सहकारीले टनेल र बाख्राको खोर निर्माण गरेको भए पनि हाल टनेल भाडामा दिइएको छ भने खोर खाली छ । सहकारीले बाख्रापालनका लागि २५ लाख लिएको थियो । अनुदान लिँदा ५३ वटा बाख्रा रहेको दाबी गरिए पनि अहिले एउटा पनि बाख्रा छैन । 

त्यस्तै, प्रांगारिक खेतीका लागि १५ बिघा जग्गा उपयोग गर्ने भनिए पनि सहकारीले आफैँ खेती गर्न छाडेको दुई वर्ष भइसकेको छ । उक्त जग्गा र टनेल व्यक्ति (दधिबल चापागाईं)लाई ठेक्कामा दिइएको छ । त्यति मात्र होइन, प्रांगारिक खेतीको नाममा अनुदान लिए पनि हाल त्यहाँ रासायनिक मल र विषादी प्रयोग गरी खेती भइरहेको ठेक्का लिने चापागाईंले स्वीकार गरे । यसअघि सहकारीले दमक– ३ का वीरेन्द्र पोखरेलको नाममा रहेको तीन बिघा जग्गा लिजमा लिएर अन्य स्थानीयको जग्गासहित करिब १५ बिघामा प्रांगारिक खेती गरेको दाबी गर्दै आएको थियो । 

सहकारीका सेयर सदस्यसमेत रहेका दमक– ४ का दधिबल चापागाईंले १ साउन ०८२ देखि उक्त जग्गा ठेक्कामा लिएका छन् । उनले प्रतिबिघा ५० हजार रुपैयाँका दरले जग्गाधनीलाई भुक्तानी गर्ने सर्तमा खेती गर्दै आएका छन् । चापागाईं यसअघि सहकारीकै कृषि प्राविधिक थिए ।

हाल उक्त क्षेत्रमा प्रांगारिक खेती बन्द भई रासायनिक खेती भइरहेको छ । चापागाईंका अनुसार बजार अभाव र उच्च लागतका कारण प्रांगारिक खेती निरन्तर गर्न नसकिएको हो ।

यसैगरी, सहकारीले प्रांगारिक कृषि प्रवर्द्धनका विभिन्न कार्यक्रममार्फत पाँच लाख ४० हजारदेखि ६८ लाख ६६ हजार रुपैयाँसम्मका अनुदान लिएको अभिलेखमा उल्लेख छ । तर, अनुदान प्राप्त भए पनि न त बाख्रापालन निरन्तर रह्यो, न त खेती नै । कोशी प्रदेश सरकारले बनाएको कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन तथा नियमावलीअनुसार अनुदान लिएको कार्यक्रम कम्तीमा पाँच वर्ष निरन्तर सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, सहकारीले तीन वर्ष पनि निरन्तरता नदिई खेती ठेक्कामा दिएको देखिएको छ ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार अनुदानले अपेक्षित परिणाम दिन नसके त्यसलाई दुरुपयोग मानिन्छ । ‘अनुदान कृषिलाई दिगो बनाउनका लागि दिइन्छ । निरन्तरता नभए दुरुपयोग मानिन्छ,’ उनले भने ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले पनि अनुदान पाएपछि कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष विश्वनाथ बराल भने अनुदान दुरुपयोग नभएको दाबी गर्छन् । कामदार अभावका कारण खेती क्षेत्र घटाइएको र हाल पनि प्रांगारिक उत्पादन भइरहेको उनको भनाइ छ ।

यद्यपि, सरकारी अभिलेखअनुसार सहकारीले एक करोड २९ लाख २१ हजार रुपैयाँ अनुदान प्राप्त गरेको देखिन्छ । बरालले भने कम रकम मात्रै लिएको दाबी गरेका छन् ।

यसैबिच, सहकारीले बचतकर्ताको रकमसमेत फिर्ता दिन नसकेको भन्दै केही समयअघि बचतकर्ताले कार्यालय घेराउ गरेका थिए ।

उक्त सहकारीले प्रांगारिक कृषि र बाख्रापालनका लागि आर्थिक वर्ष ०७५/०७६ देखि ०७८/०७९ सम्म लगातार पाँच आर्थिक वर्ष कोशी प्रदेश सरकार तथा कृषि ज्ञान केन्द्र झापाबाट अनुदान लिएको थियो । एमाले नेतासमेत रहेका बरालले एमाले सत्तामा रहेका वेला पहुँचका आधारमा आफ्नो सहकारीमा एक करोडभन्दा बढी अनुदान ल्याएको आरोप छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा मातहतको कृषि ज्ञान केन्द्र झापाबाट पाँच आर्थिक वर्षमा कृषि र बाख्रापालनका लागि एक करोड २९ लाख २१ हजार रुपैयाँ अनुदान प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

सहकारीले प्रांगारिक उत्पादनका नाममा दमक नगरपालिकाबाट एक वर्षसम्म कृषि प्राविधिकको पारिश्रमिकसमेत लिएको थियो । नगरपालिकाबाट मासिक २५ हजार रुपैयाँका दरले प्राविधिकको पारिश्रमिक उपलब्ध गराइएको थियो । त्यतिवेला दमकमा एमालेबाट निर्वाचित नगरप्रमुख रोमनाथ ओलीलगायत जनप्रतिनिधि रहेका थिए ।

एकै वर्ष दोहोरो अनुदान
सहकारीले आर्थिक वर्ष ०७६/०७७ मा दुई फरक शीर्षकबाट अनुदान लिएको पाइएको छ । सो वर्ष कृषि–पशु प्रसार सेवा टेवा कार्यक्रमअन्तर्गत २५ लाख तथा कृषि ज्ञान केन्द्र झापाबाट प्रांगारिक कृषि प्रवर्द्धन अभियानअन्तर्गत ६८ लाख ६६ हजार रुपैयाँ अनुदान प्राप्त भएको अभिलेखमा उल्लेख छ ।
 

सुझावित समाचार