पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक–ऐलानी–पर्ति जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेपछि कास्कीका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्की गठन गरी उनीहरूले आन्दोलन सुरु गरेका हुन्। महानगरले ४ वैशाखमा निकालेको ३५ दिने सूचना खारेजीको माग गदै सोमबार उनीहरूले पोखरामा र्यालीसहित प्रदर्शन गरेका छन्।
विकल्प नदिएसम्म हाल बसिरहेको स्थानबाट कुनै पनि हालतमा नह्टने र बसेको स्थान खाली नगर्ने भन्दै उनीहरुले विरोध र्यालीसहितको प्रदर्शन गरेका हुन्। ३५ दिने सूचना खारेजी गर्न माग गर्दै नाराबाजी गरेका उनीहरूले पोखरा महानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएका छन्।
यसअघि ४ वैशाखमा पोखराले नगर क्षेत्रभित्रका सार्वजनिक–ऐलानी–पर्ती जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेको थियो। सूचनामा सार्वजनिक–ऐलानी–पर्ती जग्गा मिचेर सँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनिएको छ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि पहुँचका आधारमा हुँदै आएको सार्वजनिक सम्पत्तिको दोहन गर्ने प्रवृत्तिको अन्त्य गदै नगर क्षेत्रभित्र रहेका सार्वजनिक–ऐलानी–पर्ती जग्गा संरक्षणका लागि सूचना जारी गरिएको जानकारी दिए। सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत प्रयोगलाई रोक्नका लागि महानगर अघि बढेको र त्यसैका लागि सूचना जारी गरिएको उनले बताए। दिएको अवधिमा अफैँ नहटाए महानगरले हटाउने र हटाउँदा लागेको शुल्क सम्बन्धितसँगै असुरउपर गरिने प्रस्ट पारे।