सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउने बताएका छन्। आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस– २०८३ को अवसरमा पत्रकार, सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई शुभकामना दिँदै मन्त्री तिमिल्सिनाले विश्व प्रेस स्वतन्त्रता दिवसले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ हो भन्ने सन्देशलाई स्पष्ट रूपमा उजागर गर्ने उल्लेख गरे।
लोकतन्त्रमा सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण संस्था पनि भएको भन्दै उनले राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र वा समाज सबैलाई जवाफदेही बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य हुने उल्लेख गरे । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने उल्लेख गरे । तर, स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुनुपर्नेमा जोड दिए।
आजको डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावका चुनौती बढिरहेको भन्दै उनले यस्तो समयमा सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राख्ने पत्रकारिता अझ आवश्यक बनेको बताए । समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको र सधैँ रहिरहने विश्वास व्यक्त गरे । लोकतन्त्रलाई सुदृढ बनाउन स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा सशक्त बनोस् भन्दै शुभकामना दिए ।