धनुषामा पछिल्लो समय बालुवा–गिट्टीको अवैध उत्खनन तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी विकास निर्माणका कामले गति लिँदा निर्माण सामग्रीको माग बढेको र त्यसैसँगै नदीहरूमा अनियन्त्रित दोहन बढेको स्थानीयवासीको भनाइ छ ।
स्थानीयका अनुसार प्रहरी प्रशासनकै मिलेमतोमा अवैध उत्खनन भइरहेको छ । विशेषगरी औरही नदी क्षेत्रमा मापदण्डविपरीत करिब तीन किलोमिटर तलसम्म उत्खनन गरिएको दृश्य पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने औरही पुलबाट प्रस्ट देख्न सकिन्छ । चार लेनको औरही पुल निर्माणमा संलग्न एक कामदारका अनुसार दिनहुँ ट्र्याक्टर, टिपर र बकेट प्रयोग गरी उत्खनन भइरहेको छ । रातिराति डोजर लगाएर उत्खनन हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । ‘दिनभर उत्खनन हुन्छ, कहिलेकाहीँ राति डोजर नै प्रयोग गरी उत्खनन हुन्छ,’ उनले भने ।
मिथिला नगरपालिकाले औरहीसहित बसही, जलाद, जगधर, वडहरी र रातु नदीबाट खानीजन्य पदार्थ उत्खननका लागि चालू आर्थिक वर्ष ०८२/८३ मा नेरिसा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौं महानगरपालिका– ६ लाई भ्याटसहित तीन करोड पाँच लाख ६२ हजार २७३ रुपैयाँ ८० पैसामा ठेक्का दिएको छ । १४ फागुनमा भएको सम्झौताअनुसार जेठ मसान्तसम्म ती ६ नदीबाट एक लाख २१ हजार ८३० घनमिटर ग्राभेल, ढुंगा र बालुवा उत्खनन गर्न अनुमति दिइएको छ । सम्झौतामा सूर्योदयदेखि सूर्यास्तसम्म मात्र उत्खनन गर्न पाइनेसहित ३३ बुँदे सर्त राखिएको छ । तर, स्थानीयवासीका अनुसार निर्धारित परिमाणभन्दा धेरै उत्खनन भइसकेको छ ।
ठेकेदार पक्षका प्रतिनिधि नवराज पहाडीले भने औरही नदीमा आफूहरूले उत्खनन सुरु नगरेको दाबी गरे । ‘हामीले होइन, पहिलेदेखि नै त्यहाँ उत्खनन भइरहेको हो । अब सुरु गर्ने तयारीमा छौँ,’ उनले भने । नदीकिनारमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । मापदण्डविपरीत उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएका छन् ।
इलाका प्रहरी कार्यालय र नगरपालिका कार्यालय नदीबाट क्रमशः दुई र तीन किलोमिटर दूरीमा भए पनि नियन्त्रणमा प्रभावकारी पहल नदेखिएको स्थानीयको गुनासो छ । प्रहरी र नगरपालिकाबिच भने समन्वयको अभाव देखिएको छ । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले उत्खनन नियन्त्रणमा प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको बताए । उनले भने, ‘स्वीकृति नपाएका सवारीसाधनबाट समेत उत्खनन भइरहेको छ । प्रहरीले नियन्त्रणमा चासो दिएको छैन ।’
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले भने नगरपालिकाबाट आवश्यक विवरण नपाउँदा नियन्त्रण गर्न समस्या भएको बताएका छन् । कहाँ, कति र कसरी उत्खनन गर्ने भन्ने स्पष्ट विवरण नपाउँदा कारबाही गर्न कठिन भइरहेको उनले दाबी गरे । स्थानीय युवाले निरन्तर विरोध जनाए पनि प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ । उत्खननविरुद्ध उभिँदा औरही नदीमा २५ पुस ०७६ मा मिथिला नगरपालिका– ५, श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतोको निर्मम हत्या भएको थियो । पर्यावरण अभियन्ता सुनीलकुमार सिंहले भने, ‘हामीले पटक–पटक आवाज उठाएका छौँ, तर समस्या समाधान भएको छैन । तीनै तहका सरकार मौन छन् ।’
मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले भने अनुगमन समितिले स्थलगत निरीक्षण गरिसकेको र प्रतिवेदन आएपछि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । उनले ठेकेदारलाई सम्झौताविपरीत उत्खनन नगर्न सचेत गराइसकेको उनले बताए । जिल्ला समन्वय समिति धनुषाका सभापति तथा अवैध बालुवा–गिट्टी नियन्त्रण समिति धनुषाका संयोजक राजनन्द मण्डलले अवैध उत्खनन भइरहेको स्वीकार गर्दै रातिको समयमा हुने गतिविधि नियन्त्रण गर्न कठिन भएको बताए । ‘अनुगमन हुन्छ, कारबाही पनि गरेका छौँ, तर राति हुने उत्खनन रोक्न चुनौती छ,’ उनले भने ।