कमला बगरमा तरबुजा खेतीबाट आयआर्जन गर्दै गरिब दलित परिवार

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

सिराहा र धनुषा जोड्ने कमला नदीको बगरको तरबुजा खेती स्थानीय गरिब दलितहरूका लागि आयआर्जनको भरपर्दो माध्यम बनेको छ। वैशाखको पहिलो सातादेखि खानयोग्य भएपछि तरबुजा बिक्री गरेर गरिब दलित परिवारले तीन–चार महिनाको घरखर्च चलाउने र कर्जा तिर्दै आएका छन्।

कमला किनारसँगै टाँसिएको पूर्वी धनुषाको सबैला नगरपालिका– ४ पटेर्वाका करिब ५१ वर्षीय नन्दा मुखिया भन्छन्, ‘गाउँका छरछिमेकले बगरमा तरबुजा फलाएर आम्दानी गरेको देखेर पहिलोपटक खेती गरेको हुँ। बगरको करिब पाँच कट्ठामा रोपेको तरबुजा वैशाखको दोस्रो सातासम्म ४० हजार रुपैयाँको बिक्री गरिसकेँ।’ अब करिब ५० हजार रुपैयाँसम्मको बिक्री गर्न बाँकी रहेको उनले बताए। पटेर्वा गाउँछेउको कमलाको बगरमा स्थानीय करिब ६० घरधुरी दलित गरिबहरूले तरबुजा, लौका, काँक्रा खेती गरिरहेकाे उनले सुनाए।

उनकै छिमेकी ५३ वर्षीय सुखचैन मुखियाले भने, ‘पछिल्लो सात वर्षदेखि बगरमा तरबुजा फलाएर बेच्दै आएको छु।’ पछिल्लो वर्ष सबैभन्दा बढी करिब दुई लाख रुपैयाँको तरबुजा बिक्री गरेको सुनाउँदै उनले भने, ‘यो वर्ष करिब एक बिघा खेती गरेको छु। तर, फुल्ने वेलामा पूर्वतिरबाट हावा बहेकाले त्यति राम्रो सप्रिएन।’ तरबुजा खेतीमा बिउ, सिँचाइ, मलसहित प्रतिबिघा करिब ५० हजार लगानी गर्नुपर्ने जानकारी दिँदै उनले थपे, ‘गरिबसँग त्यति रकम नहुने भएकाले ऋण लिएर खेती गर्छौँ।’

गाउँमा बस्ने थातथलोसमेत गाउँ ब्लकको पाँच धुर जग्गाबाहेक केही नरहेकी स्थानीय ४० वर्षीया गुलियादेवी सदाय भन्छिन्, ‘बालुवा मात्र रहेको बगरमा मिहिनेत गरेर खेती गर्दा दुई–चार महिनाका लागि भए पनि जीविका चलाउन सहज हुन्छ।’ पहिलोपटक पाँच कट्ठा बगरमा तरबुजा फलाएकी उनले त्यही बिक्री गरेर श्रीमान्, सासू, ससुरा, ६ बहिनी छोरीसहित १० जनाको परिवारलाई केही महिनाका लागि खर्च धान्न सहज हुने बताइन्।

स्थानीय तहको छैन पहल, व्यापारी मालामाल
कात्तिक शुक्ल पूर्णिमादेखि करिब दुई सातासम्म तरबुजाको बिउ उमारेर रोपेपछि बगरमै टहरा हालेर कुर्नुपर्ने, वेलावेलामा मलखाद, सिँचाइ गर्नुपर्ने भए पनि स्थानीय सरकारले बगरखेती प्रवर्द्धनका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ। ‘पालिका क्षेत्रमा लाखौँ रुपैयाँ खर्चिएर सडक नाला बनाउने स्थानीय सरकार गरिब दलितले गर्ने बगरखेतीका लागि न बजेट छुट्याउँछ न त पहल नै गर्छ,’ उनीहरू भन्छन्। 

करिब आठ महिनासम्म दुःख गरेर फलाएको तरबुजा किन्न बगरमै व्यापारीहरू आउने भए पनि लागत मूल्यसमेत नउठ्ने गरी सस्तोमा किन्न खोज्ने उनीहरूको गुनासो छ। ‘कम्तीमा ४० रुपैयाँ प्रतिकिलोमा नबेच्ने हो भने लागत मूल्यसमेत उठाउन सकिँदैन,’ सदायले भनिन्, ‘तर, व्यापारीहरू सस्तोमा किनेर सिराहा, लहान, गोलबजार, जनकपुर, ढल्केबरसम्म लगेर महँगोमा बेचेर मालामाल भइरहेका छन्।’

सिराहाको बेतहा, निर्दना, चतरी, बनिनियाँ, भोक्राहा, सारश्वर, बसबिट्टा, बडेर्वा, मानपुर तथा धनुषातर्फ किरतपुर, ढोलबजा, हरिने, लक्कर, हथमुन्डा गाउँका करिब एक हजार निम्न किसान तथा गरिब दलित घर परिवारले बगरखेती गरिरहेको कल्याणपुर नगरपालिका– ४ परसाहीका दलित अगुवा सुलिन्दर सदायले बताए।

‘सबैभन्दा नजिकको भनिएको स्थानीय सरकारले आफ्नो पालिका क्षेत्रका गरिब र निम्न अवस्थाका नागरिकको आर्थिक हैसियत उकास्न बगर खेती प्रवर्द्धन कार्यक्रमका लागि नीति तथा कार्यक्रम र बजेटसहित तालिम, बिउबिजन, अनुदानको मलखाद उपलब्ध गराउनुपर्छ,’ उनले भने। त्यसबाहेक बगरको झाडीमा लुकेर बस्ने बँदेल, नीलगाईले राती खेतीमा क्षति पुर्याइरहेकाले नियन्त्रणका लागि स्थानीय सरकारले सम्बन्धित निकायसँग पहल र समन्वय गरिदिनुपर्ने उनको माग छ।

सुझावित समाचार