बालबालिकामा हुने ‘अटिजम’ अर्थात् आत्मकेन्द्रित विकासात्मक अवस्थाबारे अभिभावकलाई सचेतना शिक्षा प्रदान गरिएको छ। ग्लोबल आइएमई बैंक कोशी प्रदेशको सहयोगमा शुक्रबार विराटनगरमा अटिजम अवस्थाबारे एकदिने सचेतना शिक्षा प्रदान गरिएको हो।
अटिजमको अवस्था भनेको के हो र कसरी हुन्छ ? लक्षण देखिएमा घरमै कसरी प्रारम्भिक थेरापी गराउने ? हेरचाह कसरी गर्ने र उनीहरूलाई कसरी सामान्य जीवनशैलीमा फर्काउन सकिन्छ भन्नेबारे अभिभावकहरूलाई व्यावहारिक शिक्षा प्रदान गरिएको बैंकका कोशी प्रदेश व्यवस्थापक अमर राजभण्डारीले बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अटिजम अवस्थाबारे आमरूपमा अभिभावकहरू सचेत भए मात्र बालबालिकाहरूको उचित हेरचाह गर्न सहज हुने बताए। उनले अटिजम कुनै रोग नभएर बालबालिकामा देखापर्ने आत्मकेन्द्रित विकासात्मक अवस्था ‘स्वनीलता’ भएकाले घरपारिवारलाई मात्र नभएर समाजलाई पनि सचेतना शिक्षा आवश्यक पर्ने प्रस्ट पारे।
विराटनगर महानगर अटिजम सेवा केन्द्रकी संयोजक रश्मि निरौलाले अभिभावकहरू सचेत भए मात्र दक्ष परामर्शदातासहितको सेवा केन्द्रहरू सफल रूपमा सञ्चालन हुने बताइन्। उनले बालबालिकाहरूमा अटिजम अवस्था बढ्दो भएकाले संघ, प्रदेश र पालिका सबै तहले कार्यक्रम निर्माण गरेर हेरचाहका लागि सहयोग गर्नुपर्नेमा जोड दिइन्।
सहजकर्ता रिता न्यौपानेले अटिजम अवस्थामा रहेका बालबालिकाको सर्वोत्तम हितका लागि अभिभावकको सचेतना नै प्रमुख विषय भएको बताइन्।