कप्तान जानुकाको संघर्ष

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

एक दशकदेखि जानुका तामाङ ह्विलचियरमै बसेर बास्केटबल खेलिरहेकी छिन् । यही महिनामा उनको टोलीले दुई प्रतियोगिता खेलिसकेको छ । एउटा प्रतियोगितामा पहिलो भएको उनको टोली अर्कोमा तेस्रो भयो । जानुकाले जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबको कप्तानी गरिरहेकी छिन् । उनी ह्विलचियरमा बसेर कसरी बास्केटबल खेल्ने भइन् ?, बास्केटबल नै किन रोजिन् ? यहाँसम्म आइपुग्न जानुकाले जीवनका धेरै घुम्तीहरू पार गरेकी छिन् ।

अनि सुरु भयो बास्केटबल 
२०६४ सालमा रुखबाट लडेपछि उनलाई स्पाइनल कड इन्जुरी भयो । त्यसपछि उनका दिनहरू घरभित्रै सीमित भए । सुतेरै दिन कटाउन थालिन् । एक्लोपन साथी बन्यो । घरबाहिर जानैपरे उनका बुबाले बोकेर ल्याउने लैजाने गर्थे । घरको चार घेराभित्र बस्दाबस्दै समस्या थपिँदै गयो । त्यो समस्या समाधानका लागि काठमाडौं आउनैपर्ने बाध्यता आइलाग्यो । त्यसपछि ०७३ सालमा उदयपुरबाट उनको यात्रा काठमाडौं तय भयो । ‘काठमाडौं केही गर्छु भनेर आएको होइन, ढाडको स्टिल निकाल्नुपर्ने भएपछि आएको थिएँ । काठमाडौं आएसँगै अवसर मिल्यो,’ उनले भनिन् ।

उपचारका लागि काठमाडौं आएकी उनी नेपाल अर्थोपेडिक अस्पताल पुगिन् । पुनर्स्थापना केन्द्रका बारेमा कहिल्यै नसुनेकी उनलाई त्यहीँका डाक्टरले स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र साँगा जान सुझाए । त्यहाँ गएपछि उनले थाहा पाइन्, ‘मजस्तै अपांगता भएका धेरै साथी रहेछन् । स्पाइनल इन्जुरी भएकै जागिरे साथीहरू भेटेँ । मलाई छक्क लाग्थ्यो, कसरी गरेको होला भन्ने लागिरहन्थ्यो । तर, आफैँलाई केही गर्न सक्छु भन्नेचाहिँ लाग्दैनथ्यो ।’

उपचारका लागि काठमाडौं प्रवेश उनका लागि टर्निङ पोइन्ट बन्यो । शारीरिक दुर्वलतालाई चिरेर अगाडि बढ्ने आधार बन्यो । काठमाडौंले उनलाई ह्विलचियर प्रयोग गरेर बाहिर निस्कन सिकायो । ह्विलचियरमै बसेर बास्केटबल खेल्न सिकायो । थप अध्ययनका लागि क्याम्पस जान सिकायो । आफूजस्तै अवस्थाका अरू साथीहरूसँग दुःख साट्ने वातावरण बनायो । अनि कहिल्यै नसोचेको, आत्मनिर्भर बन्ने अवसर जुटायो । 

उदयपुरमै प्लस टु पास गरेकी उनी काठमाडौं आएसँगै पद्मकन्या क्याम्पसमा स्नातक पढ्न थालिन् । क्याम्पस पढ्दै गर्दा दुई चारजना साथीहरूले बास्केटल अभ्यास गरेको देखिन् । ती साथीहरूले उनलाई पनि खेल्नुपर्छ भनेर तानातान गर्न थाले । तर, उनलाई खेल्न सक्छु भन्ने थिएन । ‘म त नौ वर्षसम्म घरभित्र बसेर आएको, एकान्तमा रमाउने भइसकेको थिएँ । सक्दिनँ होला लागेको थियो । तर, सबैले गरेपछि हुन्छ, सकिन्छ भनेर हौसला दिए,’ उनी भन्छिन्,‘त्यसपछि बिस्तारै काठमाडौं आएकै वर्ष अभ्यास बास्केटबल खेल्न थालेँ ।’ 

क्याम्पस पढ्न थालेको अर्को वर्ष नै उनीलगायतले वुमन ह्विलचियर बास्केटबल एसोसिएसन भनेर टोली बनाए । बास्केटबल खेल्दै गए । उनीहरूको टोली एक–दुई प्रतियोगिताबाहेक धेरैमा च्याम्पियन भयो । गत वर्षसम्म यही क्लब च्यापियन बन्यो । क्लब दर्ताविनै खेलिरहेका उनीहरूलाई आयोजकले दर्ता नगरी सहभागी नगराउने भन्न थाले । त्यसपछि उनको टोली क्लब दर्ताका लागि भनेर भौतारिन थाल्यो । त्यो प्रक्रिया पूरा गर्नका लागि कोहीसँग समय भएन । त्यसपछि उनीहरूको टिम नै जावलाखेल ह्विलचियर स्पोर्टस् क्लब पुगे । त्यहीँबाट प्रतियोगिता खेल्न थाले । सोही क्लबको उनी क्याप्टेन भइन् । तर, नियमित अभ्यास गर्न नपाउँदा उनीहरूको टोलीले भनेजस्तो नतिजा दिन सकेको छैन । ‘हामीले नियमित प्रतियोगिता खेल्न पाउँदैनौँ । नियमित अभ्यास पनि गर्न पाउँदैनौँ,’ उनी भन्छिन्,‘प्रतियोगिता आउनुभन्दा केही हप्ताअगाडिबाट मात्र अभ्यास हुन्छ । होइन भने शनिबार अभ्यास गर्छौँ । शनिबार दैनिक तीनदेखि चार घण्टासम्म अभ्यास गर्छौँ ।’ उनीहरूले खेल्ने बास्केटबलको पनि एक दुई नियमबाहेक अरू नियम सामान्य खेलाडीकै जस्तै हुन्छ ।

नयाँ खेलाडी ल्याउनै सकस
टोलीको कप्तान भएकाले सबै साथीलाई हौसला दिएर अगाडि बढाउने काम पनि जानुकाको जिम्मामा पर्छ । प्रतियोगिता हुने वेला, कार्यक्रमको वेला उनले नेतृत्व गर्छिन् । साथीहरूलाई अभ्यासमा आउनका लागि हौसला दिन्छिन् । ‘कतिपय अभ्यासका लागि आउन खोज्दैनन् । उनीहरूलाई ल्याउनेदेखि, अगाडि बढ्न हौसला दिने काम गर्नुपर्छ,’ उनले भनिन् । तर क्याप्टेनको रूपमा खेलिरहेकी उनी घरीघरी आजित हुन्छिन् । खेल छोडिदिउmँ जस्तो पनि लाग्छ । ‘योपटक खेल्दिनँ भन्ने भएको थियो । टिम मिलाउन एकदमै गाह्रो छ,’ उनी भन्छिन् ‘कहिले को भ्याउँदिन भन्छ कहिले को । प्रतियोगिताका लागि मात्र आउनका लागि भन्दा पनि आउँदिनँ भन्छन् । क्लबले पनि केही गर्न सक्दैन । उनीहरूलाई सम्झाउनै गाह्रो हुन्छ । त्यसैले प्रतियोगितामा मात्र सहभागी आउँदा गेम नै बिग्रिन्छ । नयाँ ल्याउन पनि समस्यै छ ।’ 

एक दशकसम्म बास्केटबलमा रहेर खेल्नका लागि उनीसामु चुनौतीको पहाड नआएका होइनन् । तर, उनका वरपरका साथी, वातावरणले खेल क्षेत्रमै टिकिरहन र केही गर्न उत्प्रेरणा मिलिरह्यो । ‘म यो क्षेत्रमा रहिरहनका लागि साथीहरूको ठुलो हात छ,’ उनी भन्छिन्, ‘हामी यसै निष्क्रिय भएका छौँ । शारीरिक कसरत छैन । शारीरिक कसरतको काम बास्केटबलले नै गराएको छ । खेलले सक्रिय गराएको छ । आफ्नै शरीरका लागि भए पनि खेल्नुपर्छ भन्ने भएर लागिरहेको हो ।’

खेल क्षेत्रमा उनी रहे पनि अपांगता भएका धेरै खेलाडी पलायन भइसकेका छन् । ‘हामीजस्तो अपांगता भएकाहरूलाई कहीँबाट केही हुँदैन । सरकारी पक्षबाट पनि केही हुँदैन । भत्ता त आउँछ । त्यो डाइपर लगाउन पनि पुग्दैन । जीवन चलाउन काम गर्नै पर्यो । त्यसले गर्दा राम्रोसँग अभ्यास गर्न पाइँदैन । नियमित अभ्यास नहुँदा खेल खस्किन्छ । च्याम्पियन टिमको नतिजामा फेरबदल आउँछ,’ उनले भनिन् । 

एक दशकअघि उनले बास्केटबल खेल्न सुरु गर्दा महिलाकै सातवटा टोली थियो । अहिले चार टोलीमा सीमित भएको छ । तीन वर्षदेखि राष्ट्रिय टोलीसमेत बन्न सकेको छैन । यसले गर्दा खेलेरै केही गरौँला भन्नेलाई समेत धेरै असर पर्यो । धेरैजना गुमनाम हुनुपरेको छ । ०७७/०७८ मा महिलातर्फको ह्विलचियर बास्केटबल टोली बनेको थियो । त्यो टोली भारतमा भएको प्रतियोगितामा समेत सहभागी भएको थियो । उनी कप्तान भएको जाउलाखेलको टोलीमा रजनी राई, बबिता थापा, तुलसा थापामगर, शोभा श्रेष्ठ, सम्झना बन, निरुता मगर, रोशनी लामा छन् । 

सबैको उपेक्षामा 
सुरुका दिन उनी काडमाडौंमा होस्टेल बसिन् । होस्टेलबाट निस्कनका लागि कोठा खोजिन् । एक वर्षसम्म उनको अवस्थाका कारण कोठा पाउन मुस्किल भयो । उनले बल्लतल्ल इमाडोलमा बस्नका लागि टहरा पाइन् । त्यो टहराले पनि अहिले भाडा बढाएको बढाएकै गरिरहेको छ । यहीकारण फेरि उनले कोठा खोजिन् । तर, दुई वर्ष भयो, उनले कोठा भेट्टाउन सकेकी छैनन् । कोठा भेट्टाए पनि उनी र उनको श्रीमान्को शारीरिक अवस्थाका कारण ‘हुँदैन’ को जवाफ आउँछ । ‘कोठा खाली भए पनि हामीलाई भाडामा दिँदैनन्,’ उनले भनिन् ।

उनीहरू यहाँ मात्र होइन, यत्रतत्र पीडामा छन् । खेल खेल्ने क्रममा धेरै ठाउँमा अपांगतामैत्री शौचालय हुँदैन । जसकारण दिनभर पेट फुलाएर बस्नुपर्ने अवस्था हुन्छ । राज्यले निर्माण गरेका धेरै भौतिक संरचना अपांगतामैत्री छैनन् । त्यसले उनीहरूलाई घरभित्रै बन्धक बनाएको छ । जसोतसो सडकमै ह्विलचियर गुडाउनेलाई ठुला बसले पेलेर त्रसित बनाउँछ । सबैतिरबाट पेलिएका उनीजस्ता अपागंता भएका व्यक्तिहरू आत्मनिर्भर भएर, खेलेर अगाडि बढ्न खोज्छन् । तर, राज्यको नजर पर्दैपर्दैन । अपांगता भएका खेलाडीलाई खेल्ने वातावरण सिर्जना गरिदिने हो भने सपांगजत्तिकै गर्न सक्ने उनको बुझाइ छ । उनी भन्छिन्,‘जति नै समस्या भए पनि हामीले खेल्न छाडेका छैनौँ । केही राम्रा खेलाडी पनि जोडिएका छन् । आउने दिनमा अझै मिहिनेत गर्नेछौँ ।’

See More On

सुझावित समाचार