हिजोआज घर सजावट केवल भौतिक संरचना र महँगो सामग्रीमा सीमित छैन, बरु यसले हाम्रो सोच, रुचि र जीवनशैलीलाई समेत प्रतिनिधित्व गर्छ । घरको भित्तामा झुन्डिएको एउटा सानो पेन्टिङले पनि सम्पूर्ण वातावरणलाई परिवर्तन गर्न सक्छ । त्यसैले चित्रकला घर सजाउने एउटा सशक्त र प्रभावकारी माध्यम बनेको छ ।
घरका भित्तामा विभिन्न डिजाइन, टेक्स्चर र सजावटी सामग्री प्रयोग गर्ने चलन बढ्दो छ । बजारमा थुप्रै विकल्प उपलब्ध छन् । तीमध्ये पनि पेन्टिङको आफ्नै विशेषता छ । पेन्टिङले केवल कोठाको सौन्दर्य बढाउँदैन, यसले घरमा बस्ने मानिसको मनस्थिति, ऊर्जा र सोचमा समेत सकारात्मक प्रभाव पार्छ । यही कारणले आजकल पेन्टिङप्रति केवल कलापारखी मात्र होइन, सामान्य मानिसमा पनि आकर्षण बढेको पाइन्छ ।
पेन्टिङको विषयवस्तुमा विविधता छ । प्राकृतिक दृश्य, मानवीय मुहार, सांस्कृतिक झल्को, दैनिक जीवनशैली वा अमूर्त अभिव्यक्तिजस्ता विषय हुन्छन् । यी सबैले फरक–फरक अनुभूति दिन्छन् । कसैलाई शान्त र सन्तुलित रंग मन पर्छ भने कसैलाई तीव्र र विद्रोही भाव बोकेको चित्र आकर्षक लाग्छ । त्यसैले, घरमा कस्तो पेन्टिङ राख्ने भन्ने कुरा पूर्ण रूपमा व्यक्तिको रुचि, भावना र दर्शनमा निर्भर रहन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको मूल्य हो । धेरैलाई लाग्छ कि राम्रो पेन्टिङ महँगो हुनुपर्छ, तर त्यो आवश्यक छैन । मुख्य कुरा चित्रको मूल्य होइन, त्यसले दिने अनुभूति र सन्देश हो । एउटा राम्रो पेन्टिङले घरका सदस्य मात्र होइन, पाहुनाको मन पनि आनन्दित बनाउन सक्छ ।
चित्रकला केवल सजावट मात्र होइन, यो मानसिक स्वास्थ्यसँग पनि गहिरो रूपमा जोडिएको छ । यसले दिमागलाई नकारात्मक सोचबाट टाढा राख्छ र सिर्जनात्मक बनाउँछ । चित्रकला अभिव्यक्तिको एक सशक्त माध्यम हो, जसले मानिसलाई आफ्ना भावना र विचार सहज रूपमा व्यक्त गर्न मद्दत गर्छ । कामको तनाव, दौडधुप र भविष्यको चिन्ताका कारण धेरैको निद्रा बिग्रिरहेको हुन्छ । व्यस्तताबिच पनि केही रचनात्मक हुन सकियो भने मुड फ्रेस रहन्छ । त्यसकारण घरलाई कलात्मक बनाउनुपर्छ । हामीलाई गाँस, वास र कपास भएर मात्र पुग्दैन । हाम्रो जीवनशैलीमा आनन्द र मनोरञ्जन पनि आवश्यक पर्छ । कलाबाट यस्तो महसुस गर्न सकिन्छ । कस्तो चित्रकला राख्ने भन्नेचाहिँ व्यक्तिको रुचिमा भर पर्छ । संस्कृति र परम्परा झल्काउने चित्रकलाले सुन्दरतासँगै शिक्षा पनि दिने गर्छ ।
रङहरूको पनि आफ्नै भाषा हुन्छ । त्यसैले, रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । मस्तिष्कलाई वर्तमानसँग जोड्छ र त्यसैमा घोत्लिन प्रेरित गर्छ । यही कारणले चित्रकलाले मानिसलाई वर्तमानमा केन्द्रित गराउँछ र मानसिक रूपमा सन्तुलित बनाउँछ । व्यस्त जीवन, कामको दबाब र भविष्यको चिन्ताबिच घरलाई कलात्मक बनाउन सकिन्छ । जसले हाम्रो मानसिक सन्तुलनका लागि सहयोगी बन्न सक्छ ।
हाम्रो जीवनमा आनन्द र सौन्दर्य पनि आवश्यक हुन्छ । चित्रकलाले यही अभाव पूरा गर्छ । यसले आत्मशान्ति, आत्मसम्मान र आत्मविश्वास बढाउँछ । साथै, समस्या समाधान गर्ने क्षमता र धैर्यशीलता विकास गर्न पनि सहयोग गर्छ । घरलाई केवल बस्ने ठाउँ मात्र नभई अनुभूति गर्ने स्थान पनि बनाउनुपर्छ । एउटा सुन्दर पेन्टिङले त्यो सम्भव बनाउँछ ।