- लिग चरणको अन्तिम खेलमा रुकुम पश्चिमले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध पार्दै पुरुषतर्फ फाइनल स्थान पक्का गरेको हो
रुकुम पश्चिम भलिबल क्लबले दसौँ प्रधानमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा रुकुम पश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध पार्दै पुरुषतर्फ फाइनल स्थान पक्का गरेको हो । अब रुकुम पश्चिमले उपाधिका लागि शनिबार हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुमले पुलिसलाई २५–२२, २९–२७, १६–२५ र २६–१६ को सेटमा हरायो । रुकुमले लिग चरणमा सातमध्ये ६ खेलमा जित र एक खेलमा हारसहित १८ अंक जोड्यो । हेल्प नेपालमा पनि तीन पाकिस्तानी खेलाडी छन् । रुकुमसँग पराजित भएपछि पुलिस भने फाइनल पुग्न असफल भयो ।
पुलिसले लिगमा सातमध्ये पाँच जित र दुई खेलमा हार सामना गरी १५ अंक जोड्यो । लिगको महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । न्यु डायमन्ड लिग चरणमा अपराजित रहँदै शीर्ष र नेपाल पुलिसले दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेका हुन् ।
अन्तिम खेलमा एपिएफ विजयी
विभागीय टोली नेपाल एपिएफ क्लबको पुरुष टोलीले लिगको अन्तिम खेलमा कोशी प्रदेशलाई हराएको छ । एपिएफले कोशीलाई ३–१ को सेटमा हराएको हो । समग्रमा एपिएफ २२–२५, २५–१७, २५–१४ र २५–१४ को सेटमा विजयी भयो । लिगमा एपिएफको यो दोस्रो जित हो । एपिएफले सात खेलबाट ६ अंकसहित लिगको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा हारको सामना गरेको कोशीले तीन अंक जोडेको छ । कोशीले लिगमा ६ खेलमा हारको सामना गरेको हो ।
अर्को खेलमा तीन भारतीय खेलाडी सम्मिलित खिल्जीलाई बुढानीलकण्ठले ३–२ को सेटमा स्तब्ध बनायो । अन्तिम खेलमा पहिलो जित निकाल्दै बुढानीलकण्ठ भलिबल क्लबले लिगको सुखद अन्त्य गरेको छ । पुरुषतर्फको बुढानीलकण्ठले खिल्जी युवा क्लबलाई ३–२ को सेटमा हराएको हो । बुढानीलकण्ठले तीन भारतीय खेलाडी सम्मिलित खिल्जीविरुद्धको सुरुका दुई सेट गुमाएको थियो ।
त्यसपछि लगातार तीन सेट जित्दै बुढानीलकण्ठले बाजी मार्यो । समग्रमा बुढानीलकण्ठ २१–२५ र २२–२५, २५–२१, २५–१८ र १५–१३ ले जित्यो । बुढानीलकण्ठले दुई अंकसहित लिग सकाएको छ । अन्तिम खेलमा पराजित खिल्जीले सात खेलबाट ६ अंक जोड्यो । नेपाल भलिबल संघको आयोजनामा चलिरहेको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ आठ टोलीको सहभागिता थियो ।