जसको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो : लाइसेन्स खारेज प्रक्रिया अगाडि बढाइएका चिकित्सकमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा. सिर्जना श्रेष्ठ, डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरव जिसी, डा. जेनिस श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दीपिका ज्ञवाली, डा. हेमु चौरासिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे छन् ।
नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागिएको हो । ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन् ।
काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवका अनुसार आवश्यक सूची तयार भइसकेको छ र ती चिकित्सकविरुद्ध कारबाही प्रक्रिया सुरु गरिएको छ । ‘विदेशमा कार्यरत र दोहोरो नागरिकता लिएका चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्ने तयारी गरेका छौँ, प्रारम्भिक चरणमा १९ जनालाई कारबाही गर्दै छौँ,’ उनले भने ।
उनका अनुसार ती चिकित्सक हाल अमेरिका, क्यानडा, न्युजिल्यान्ड, जर्मनी, अस्ट्रेलिया र भारतलगायत देशमा कार्यरत छन् र त्यहाँको नागरिकतासमेत लिइसकेका छन् । यसबारे सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ । काउन्सिलले सूचना भने बिहीबार जारी गरेको हो ।
लाइसेन्स खारेज प्रक्रिया अगाडि बढाइएका चिकित्सकमा डा. सुमिन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेशराज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा. सिर्जना श्रेष्ठ, डा. सुनिता विष्ट, डा. दीपा मल्ल, डा. सौरव जिसी, डा. जेनिस श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दीपिका ज्ञवाली, डा. हेमु चौरासिया, डा. समीक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन् ।
नेपाल छाडेका, अन्य देशको नागरिकता लिएका र विदेशकै अस्पतालमा काम गरिरहेका कतिपय डाक्टरले अनलाइनमार्फत नेपालमा स्वास्थ्य सेवा दिइरहेका छन् । तर, उनीहरूले पनि त्यसरी स्वास्थ्य सेवा लिन नपाउने काउन्सिलले जनाएको छ ।
चिकित्सकले आफ्नो जिम्मेवारी पूरा नगरेको, बिरामीलाई हैरानी दिएको, लापरबाही गरेको भनेर बिरामी पक्षबाट बढी गुनासा आउन थालेपछि मेडिकल काउन्सिलले कडाइ गर्न थालेको छ । यही क्रममा काउन्सिलले पछिल्लोपटक चिकित्सकहरूलाई बिरामीप्रति उत्तरदायी बन्न निर्देशनसमेत दिएको छ ।
काउन्सिलले बिरामीको फोटो–भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न, दर्ता भएका अस्पतालमा मात्रै काम गर्न, आफ्नो कार्यालय तथा ड्युटी समयभरि तोकिएकै अस्पतालमा काम गर्नलगायत निर्देशन दिएको छ ।
हाल कतिपय अस्पतालमा कार्यरत निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्टले निजी अस्पतालमा पनि काम गरिरहेका छन् । तर, त्यसो गर्न नपाइने काउन्सिलका रजिस्ट्रार देवले बताए ।
काउन्सिलमा परेका उजुरीमाथि कम निर्णय
काउन्सिलमा ०८२/८३ मा बिरामी पक्षबाट ३९ वटा उजुरी परेको थियो । जसमध्ये चारवटा निर्णय भएको थियो । ३५ वटा प्रक्रियामा छन् । चार निर्णयमध्ये एकजना दन्त चिकित्सकलाई दुई साताका लागि निलम्बन गरिएको छ । दन्त उपचारमा समस्या देखिएपछि ती डाक्टरलाई कारबाही गरिएको काउन्सिलका रजिस्ट्रार सतीशकुमार देवले बताए । उनका अनुसार अन्य तीनवटा उजुरीमा डाक्टरलाई सचेत गराइएको छ ।
त्यस्तै, ०८१/०८२ मा ५६ जनाको उजुरी परेकोमा दुईजना चिकित्सकलाई मात्रै सचेत गराइएको थियो । आर्थिक वर्ष ०८०/८१ मा ७० उजुरी परेकोमा २८ वटा निर्णय गरिएको थियो भने ६ वटा तामेली र ३६ वटा उजुरीमा छानबिन नै भएन ।
त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ९० उजुरी परेकोमा ४४ वटामा निर्णय भएको थियो । उक्त निर्णयमा पनि डाक्टरलाई सचेत गराइएको थियो भने आर्थिक वर्ष ०७८/७९ मा ४६ उजुरी परेकोमा २४ वटामा निर्णय भएको थियो ।
काउन्सिलबाट बिरामीको उजुरीसँग सम्बन्धित निर्णय नभएको भन्दै १२ चैत ०८२ मा उच्च अदालत पाटनले कामकारबाहीसम्बन्धी निरीक्षण गरेको थियो । निरीक्षणपछि अदातलले प्रक्रिया पुर्याएर सुनुवाइ नगरेको भन्दै उक्त निर्देशन दिएको थियो ।