रोयल टुलिप चितवन सञ्चालक केटिएम हस्पिटालिटीले आइपिओ ल्याउँदै, बोर्डमा दियो आवेदन

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले आइपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।

बोर्डको पछिल्लो विवरणअनुसार केटिएम हस्पिटालिटी बोर्ड पाइपलाइनमा १८औँ नम्बरमा सूचीकृत भएको छ। कम्पनीले एक सय रुपैयाँअंकित १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न आवेदन दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा आरबिबी मर्चेन्ट बैंकिङ छ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीले चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ।

आइपिओ निष्कासन गरिएसँगै यो आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६१.५ः३८.५ रहनेछ। अर्थात् परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिए पनि कम्पनीले स्वपुँजीको अनुपात बढाउँदै लगेको देखिन्छ। कम्पनीले सन् २०२५ को साउनदेखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो।
 
केटिएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो। ०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो। कम्पनीले आफ्नो परियोजनाको पुँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आइपिओ जारी गर्न लागेको हो। होटेल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पुँजी जुटाउन आइपिओ एक महत्त्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ।

यो कम्पनीको नेतृत्व व्यवसायी रामेश्वर शाहले गरिरहेका छन्। शाह केटिएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा सिइओ हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वउपाध्यक्ष र आउटसोर्सिङ एसाेसिएसन अफ नेपालका अध्यक्षसमेत हुन्। उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा पनि उनको सक्रिय भूमिका छ।

रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटेल चेन ‘लुभ्र होटल्स् ग्रुप’अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ। चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू छन्। रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याडजस्ता सुविधा छन्।

रिपोर्टअनुसार, अन्तर्राष्ट्रिय ब्रान्डको आबद्धता र अनुभवी प्रवर्द्धक हुनु कम्पनीका सबल पक्ष हुन् । तर, पर्यटन क्षेत्रमा हुने उतारचढाव, चर्को प्रतिस्पर्धा र उच्च बैंक ऋणका कारण सुरुवाती वर्षहरूमा तरलतामा केही चाप पर्न सक्ने रेटिङ एजेन्सीले औँल्याएको छ।

सुझावित समाचार