फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेवातालकिनारको पोखरा महानगरपालिका– १८, खपौदी बस्ने १० वर्षीय आरेस लामा रहेका सशस्त्र प्रहरीले जनाएको छ।
खपौदीस्थित फेवातालमा शुक्रबार पौडी खेल्ने क्रममा लामा तालमा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा खटिएकोे गोताखोरसहितको सातजनाको टोलीले घटनास्थलमा खोजतलास गर्ने क्रममा करिब १८ फिट गहिराइबाट तालमा डुबेका लामालाई अचेत अवस्थामा बाहिर निकालिएको थियो।
तालबाट बाहिर निकालेपछि तत्काल लामालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका उद्धार टोलीको कमान्ड गरेका शर्माले जानकारी दिए।