अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) पुर्याएर सरकारी ठेक्का हत्याउने धन्दा निकै योजनाबद्ध र संगठित तरिकाले चलेको पाइएको छ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पछिल्लो एक ठेक्काबाट अनलाइन बोलपत्र प्रणालीमा हुँदै आएको चलखेल बाहिर आएको हो । केयुकेएलले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाइप बिछ्याउनका लागि करिब १० अर्ब रुपैयाँको ठेक्का खुलाएको थियो ।
जुन ठेक्का ह्याकिङमार्फत केही कम्पनीले हात पारेको उजुरी सो परियोजनाको दाता एडिबीमा पुग्यो ।
एडिबीले गम्भीरताका साथ लिएर त्यसमा छानबिन गर्न आग्रह गरेपछि सार्वजनिक खरिद अनुगमनको कार्यालयले प्रारम्भिक छानबिन गरेको थियो ।
प्रारम्भिक छानबिनमै अनधिकृत पहुँच पुर्याएको पुष्टि भएपछि कार्यालयले थप छानबिनका लागि प्रहरीलाई पत्राचार गर्यो । प्रहरीको अनुसन्धानमा उक्त ठेक्कासँगै वर्षौँदेखि चल्दै आएको ह्याकिङ बाहिर आएको हो ।
केयुकेएलको ठेक्कामा ह्याकिङ प्रस्ट भएपछि प्रहरीले आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीलाई पक्राउ गरेको थियो । पाँचवटा प्याकेजमार्फत खुलाइएको ठेक्कामा करिब चार अर्बबराबरको तीनवटा प्याकेज आशिष निर्माण सेवाले पाउने तय भएको थियो । सो कम्पनीले ह्याकरमार्फत प्रस्ताव संशोधन गरी सबैभन्दा कममा ठेक्का पाउन लागेको अनुसन्धानमा पुष्टि भएको छ । सो परियोजनाको सबै प्याकेजको ठेक्का यसैगरी ह्याकिङ गरी हत्याउने प्रयास भएको स्रोत बताउँछ ।