रुकुम पूर्वबाट तीर्थयात्री लिएर रोल्पाको जलजलामा पूजाआजाका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको ज्यान गएको छ । जिपको छतमा बसेका एकजनाले मात्रै हाम फालेर ज्यान जोगाएका छन् ।
जिपमा सवार चालकसहित २० जनाको ज्यान जाँदा रुकुम पूर्वको सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामी मात्रै हाम फालेर जोगिए । उनी छतमा बसेका थिए । सँगै छतमा बसेका उनका साथीको पनि ज्यान गयो । आफू भने हाम फालेर रुखको जरा समाएर जोगिएको उनले बताए ।
‘हामी जलजलामा पूजाका लागि गइरहेका थियौँ । ममी पनि हुनुहुन्थ्यो । सबै गाडीभित्र थिए, म र एकजना साथी छतमा बसेका थियौँ । जिप एक्कासि भिरमा गयो । छतबाट हामी दुवैजना हाम फाल्यौँ । तर, साथी तलतिर हाम फालेकाले गाडीले च्यापेर भिरतिर लग्यो, म साइडतिर हाम फालेकाले रुखको जरा समाएर बाँचेँ,’ थबाङ आधारभूत अस्पतालमा उपचाररत समीरले भने ।