सरकारले पहिलो चरणमा काठमाडौंको नदीकिनार अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएसँगै दोस्रो चरणका काम आजबाट सुरु गरेको छ । पहिलो चरणमा नदीकिनारबाट हटाइएकाहरूको स्क्रिनिङ सकेसँगै आज बिहानबाट काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुमवासी बस्ती र बल्खुको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ ।
यसअघि सरकारले उपत्यकाको बागमती नदी र मनोहरा नदीकिनारमा डोजर चलाएर अतिक्रमित घर टहरा भत्काएको थियो । यस क्षेत्रमा अहिले सुरक्षाकर्मी र महानगर प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। घरटहरा भत्काउँदा स्थानीयले कुनै अवरोध गरेका छैनन् । यहाँ अहिले शान्तिपूर्ण रूपमा अतिक्रमित घरटहरा भत्काउने काम भइरहेको छ ।


