डा. शेखर कोइराला पक्षले कांग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने निष्कर्ष निकालेको छ । कोइराला पक्षको बागमती प्रदेशस्तरीय भेलाले एउटै महाधिवेशनका लागि पटकपटक सदस्यता अद्यावधिकको विषय जायज नहुने निष्कर्ष निकालेको हो ।
भेलामा कोइरालाले सदस्यताको विषय पेचिलो बनेको भन्दै पुनः दोहोर्याएर गर्नु उचित नहुने बताएका छन् । ‘साथीहरूले १५औँ महाधिवेशनकै लागि एकपटक नवीकरण गरिसक्नुभयो । फेरि सोही प्रयोजनका लागि अद्यावधिक गर्न खोज्नु उचित होइन । यो किन भइरहेको छ, बुझ्न सकिएको छैन,’ भेलामा सहभागी एक नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको विषम परिस्थितिमा पार्टी एकता आवश्यक छ । त्यो काम जिम्मा लिएका साथीहरूले गर्नुपर्ने हो । तर, जसरी पहल हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’
पार्टी एक बनाएर लैजाने जिम्मेवारी पनि सभापति गगन थापाकै भएको निष्कर्ष कोइराला पक्षले निकालेको छ । छलफलमा डा. शशांक कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, डा. चन्द्रमोहन यादव, उर्मिला थपलियालगायत नेता सहभागी थिए । ‘छलफलमा सहभागीले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अद्यावधिक व्यावहारिक नभएको उनीहरूको तर्क थियो,’ कोइरालाको सचिवालयले जारी गरेको प्रेस नोटमा छ । भेलामा नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको दाबी पनि गरेका छन् । पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापतिकै रहेको उनीहरूको निष्कर्ष छ ।
देउवा समूहले भन्यो– पूर्वाग्रही र आपत्तिजनक
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको क्रियाशील सदस्यता कुनै नेताको लहड वा उत्तेजनामा खारेज नहुने बताएको छ । खड्काले महाधिवेशनको वैधानिक व्यवस्थाबाहेक कसैले पनि सदस्यता खारेज गर्न नसक्ने स्पष्ट पारेका छन् । काठमाडौंमा भएको आफूपक्षीय नेताहरूको भेलाको निर्णय बिहीबार सार्वजनिक गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता लहडमा खारेज हुन नसक्ने जिकिर गरेका हुन् । ‘कुनै नेताको आवेग, उत्तेजना वा लहडका भरमा पार्टीका योद्धा र सहिद परिवारको भावनासँग जोडिएको सदस्यता खारेज हुन सक्दैन,’ खड्काले भनेका छन्, ‘निर्दलीय पञ्चायती व्यवस्थामा ज्यान हत्केलामा राखेर लिएको सदस्यता कुनै नेताको हारजितसँग मात्र होइन, लोकतन्त्रको लडाइँ र सहिदको सम्मानसँग जोडिएको छ ।’ मुलुक विषम राजनीतिक परिस्थितिमा रहेका वेला पार्टीभित्र एकता खोज्नुको सट्टा विभाजन र भ्रम सिर्जना गर्ने गतिविधि नगर्न पनि उनले ध्यानकर्षण गरेका छन् । ‘पूर्वाग्रह साँधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्ने र उनीहरूमाथि कारबाहीको डन्डा बजार्ने कार्य तीव्र गतिमा बढेको घटनाक्रमप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दै त्यस्तो निरंकुश प्रवृत्ति तत्काल रोक्न र आगामी दिनमा नदोहोच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।