- महिलातर्फको प्रतिस्पर्धामा न्यु डायमन्डले नेपाल पुलिसमाथि समग्रमा २५–१९, २२–२५, ११–२५, २५–१५ र १५–१३ ले जित निकाल्यो
न्यु डायमन्ड स्पोर्टस् क्लबले दसौँ प्रधानमन्त्री कपअन्तर्गत महिला भलिबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गराएको छ । यसअघि दुवै टोलीले लगातार चार जित निकालेर फाइनल स्थान पक्का गरिसकेका थिए । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार महिलातर्फको समूह विजेता भिडन्त चलेको थियो । जसमा न्यु डायमन्डले पुलिसमाथि बाजी मारेको हो ।
न्यु डायमन्डले राउन्ड रोबिन लिगमा अपराजित रहेर फाइनल स्थान बनायो । पुलिस एक मात्र खेलमा पराजित भयो । न्यु डायमन्डले पाँचौँ तथा निर्णायक सेटमा पुलिसलाई १५–१३ ले स्तब्ध पारेको हो । यो दुई टोलीबिचको प्रतिस्पर्धा फाइनलअघिको रिप्लेजस्तै भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा पाँच सेटसम्म खेल लम्बिँदा कसले जित्ने भन्ने अनुमान लगाउन गाह्रो परेको थियो ।
न्यु डायमन्ड समग्रमा २५–१९, २२–२५, ११–२५, २५–१५ र १५–१३ ले विजयी रह्यो । न्यु डायमन्डले पहिलो सेट २५–१९ ले हात पारेको थियो । त्यसपछि पुलिसले लगातार दुई सेट २५–२२ र २५–११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्डमाथि दबाब बढाउँदै २–१ को सेटमा अग्रता लियो । न्यु डायमन्डले अपराजित यात्रा जारी राख्न कम्तीमा चौथो सेट जित्नुपर्ने थियो । यस सेटमा न्यु डायमन्डले कुनै पनि गल्ती नगरी पुलिसलाई २५–१५ ले हराउँदै सेट २–२ को बराबरी गर्यो । त्यसपछि पाँचौँमा पुलिसका खेलाडीले सामान्य गल्ती गर्दा न्यु डायमन्ड १५–१३ ले विजयी भएको हो । अब यी दुई टोलीबिच शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ हेल्प नेपाल फाइनलमा
प्रतियोगिताअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब फाइनलमा पुगेको छ । हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरी अन्तिम दुई स्थान पक्का गरेको हो । हेल्प नेपालले लगातार छैटौँ खेलमा जित निकाल्यो । जितपछि हेल्प नेपालले ६ खेलमा १८ अंक बटुल्यो । पुलिस १५ अंकमा सीमित भएको छ । रुकुम पश्चिमले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराउँदै फाइनल पुग्ने सम्भावना जीवित बनायो ।
रुकुम पश्चिमको पनि ६ खेलबाट १५ अंक बनाएको छ । अब शुक्रबार पुलिस र रुकुम पश्चिमबिचको विजेता नै फाइनलमा पुग्नेछ ।
हेल्प नेपालले पुलिसविरुद्ध २५–२२, २५–१९, २३–२५ र २५–१७ को नतिजा निकालेको हो । पुलिस भने छैटौँ खेलमा पराजित भयो । समान ६ खेल खेलेको रुकुम पश्चिमले पाँच जित र एक हारका साथ १५ अंक जोडेको छ । १९ वैशाखसम्म चल्ने लिगमा महिलातर्फ ६ र पुरुषतर्फ आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछन् । तेस्रो स्थानमा रहने टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।