अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्दै भीमफेदी, थप ११६ जना कोषमा जोडिए

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

देशमै पहिलोपटक अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको मकवानपुरको भीमफेदी गाउँपालिकाले अभियानलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाले बिहीबार एक कार्यक्रमबिच थप ११६ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलगायतले श्रमिकहरूलाई कोषमा आबद्ध गराएका हुन् । यससँगै भीमफेदीमा हालसम्म ३११ जना अनौपचारिक क्षेत्रका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् ।

गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार २०८० साउन ३० गतेदेखि सुरु गरिएको कार्यक्रमलाई निरन्तर विस्तार गरिएको हो । गाउँपालिकाले श्रमिकको न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र स्थानीय तहबाट ९.३५ प्रतिशत योगदान थप गरी कुल २०.३५ प्रतिशत अर्थात् मासिक दुई हजार ४७९ रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाएको अध्यक्ष लामाले जानकारी दिए ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही बजेटबाट ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक श्रमिक गरी ११६ जनालाई थप आबद्ध गराइएको अध्यक्ष लामाको भनाइ छ । कोषमा आबद्ध भएका मजदुरले वार्षिक एक लाखबराबरको उपचार खर्च, सात लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिनबराबरको पारिश्रमिक र शिशु स्याहारका लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भई अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी दिनमा प्रदेशका सबै स्थानीय तहमा अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षामा कार्यक्रम विस्तार गरिने बताए । स्थानीय तहबाट सुरु भएको यस्तो पहलले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै उनीहरूको दीर्घकालीन जीवनयापनमा टेवा पुर्याउने मुख्यमन्त्री बानियाँले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले सामाजिक सुरक्षामा  कार्यक्रमलाई दीर्घकालीन बनाउन नीतिगत व्यवस्था गरिने जानकारी दिए ।

सुझावित समाचार