रोल्पामा जिप दुर्घटना : २० तीर्थयात्रीको मृत्यु, एक घाइते

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । वैशाख पूर्णिमाको अवसरमा बराह पूजामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा २० जनाको  मृत्यु भएको छ, एकजनाकाे घाइते अवस्थामा जीवितै उद्धार गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार दिउँसो रुकुम पूर्वबाट रोल्पाको जलजला जाँदै गरेको लु.१ ज ४१६७ नम्बरको जिप थबाङ गाउँपालिका– १, सल्याप क्षेत्रमा दुर्घटनामा परेको हो। जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामी घाइते भएका छन्। उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट लागेको छ। उनलाई थबाङस्थित आधारभूत अस्पतालमा उपचारका लागि पठाइएको छ र अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल भिरमा खसेको थियो। दुर्घटनापछि शवहरू भिरभरि छरिएको अवस्थामा भेटिएका छन्। मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन।

प्रारम्भिक अनुसन्धानमा वर्षाका कारण कच्ची सडक चिप्लो भई जिप अनियन्त्रित भएको अनुमान गरिएको छ। दुर्घटना भएको समयमा वर्षा भइरहेको र दुर्गम भू–भागका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा समन्वयमा समेत समस्या परेको थियो।

उद्धार तथा खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।

घाइते समीर कामीका अनुसार जिप एक्कासि भिरतर्फ झरेपछि उनी र छतमा बसेका अर्का एकजना हाम फालेर बाँच्न सफल भएका थिए। अन्य यात्रु भने गाडीभित्रै थिए।हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार