लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ। पहिलो बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताका विषय उठान भएको छ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ भनिएका शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दाबी गर्दै पुराना राजनीतिक दलहरूले नै देश निर्माणको हैसियत राख्ने जिकिर गरे। कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राखिन्।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारूले भूमि क्षेत्रका विषय उठान गरेका थिए। प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले इमानदारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिए।
अर्की सांसद हेमा बेल्वासेले विगतका गल्ती नदोहोर्याई कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने धारणा राखिन्। प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी क्षेत्रको विकासबारे कुरा राखेका थिए।
प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिइन्।