बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका– १, रानीसैन वन क्षेत्रमा चट्याङ लाग्दा ठुलो संख्यामा चौपाया क्षति भएको छ। बुधबार साँझ करिब ४ बजेको समयमा हावाहुरी र असिनापानीसँगै आएको चट्याङले ३९ बाख्रा मरेका छन् भने ३९ बाख्रा बेपत्ता भएका छन्।
स्थानीयले बाख्रा चराउँदै गर्दा राउटे ओडारमा ओत लागिरहेका वेला चट्याङ पर्दा बाख्राहरू मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दार हेमबहादुर खड्काको टोली खटिएको थियो।
प्रहरीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा प्रारम्भिक विवरणअनुसार स्थानीय सज्जन कडाराका ११ वटा बाख्रा मरेका छन् भने १५ वटा अझै बेपत्ता छन्। यस्तै, जसवीर रावलका २८ वटा बाख्रा मरेका र २४ वटा बेपत्ता रहेको जनाइएको छ। यस घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। चट्याङका कारण भेडाबाख्रा पालक कृषकले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।