दुई दिन बिदाले सुकुटे भरिभराउ

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले लागू गरेको दुईदिने बिदाले पर्यटकीय क्षेत्र सुकुटे भरिभराउ भएको छ । शुक्रबार र शनिबार बेलुका आन्तरिक पर्यटकले सुकुटे भरिभराउ हुने गर्छ । 
शुक्रबार बेलुका दुई हजार, शनिबार एक हजार पाँच सय र अन्य दिन तीन सय पर्यटक सुकुटे पुग्छन् । ‘हप्तामा पाँच हजार पर्यटक सुकुटे आउँछन्,’ सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले भने। सुकुटे क्षेत्रमा सुविधासम्पन्न १८ होटेल तथा रिसोर्ट छन् । सुकुटेमा हिउँद–बर्खै पर्यटकको घुइँचो लाग्छ ।

‘प्रत्येक पर्यटकले कम्तीमा  पाँच हजार खर्च गर्दा पनि हप्तामा दुई करोड ५० लाख आम्दानी हुन्छ,’ थापाले भने, ‘यसबाट राज्यलाई फाइदा पुग्छ ।’ राजधानी काठमाडौंबाट ६५ किलोमिटर दूरीमा रहेको सुकुटे विदेशी पाहुना, मध्यमवर्गीय परिवार र कर्मचारीको नजरमा परेको उनले सुनाए । सरकारले हप्ताको दुई दिन छुट्टी दिएकाले राष्ट्रसेवक कर्मचारी फ्रेस भई टहल्न सुकुटे आउन थालेका छन् ।

आन्तरिक पर्यटक बढेकाले होटेल, रिसोर्ट, सडकछेउका भोजनालय भरिभराउ भएको र स्थानीय उत्पादन बिक्री पनि दोब्बर भएको थापाले बताए । होटेलमा पाँच सयभन्दा बढी स्थानीय रोजगार छन् । यहाँ उत्पादित तरकारी, फलफूल, माछामासु र अन्नले उचित मूल्य पाएको छ। नेपाल पर्यटन बोर्ड र चौतारा साँगाचोकगढी नगरपालिकाले विनियोजन गरेको रकमबाट पर्यटन सूचना केन्द्र स्थापना गरिन लागेको उनले जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज एसाेसिउसन अफ नेपालका पूर्वअध्यक्ष तथा नेसनल जियोग्राफीका नेपाल प्रतिनिधिसमेत रहिसकेका थापाले सुकुटेलाई जुगल हिमालसँग जोड्ने प्रयत्न गरेका छन् । जुगल हिमशृंखलालाई नेपाल सरकारले पर्वतारोहणका लागि खुला गरेसँगै पूर्वाधारको काम तीव्र पारिएको छ । जुगल हिमाल चढ्न आउने पर्यटक जाँदा एक रात र फर्किँदा दुई रात सुकुटेमा आराम गर्ने योजना बनाएकोले यहाँका होटेलको महत्त्व झन् बढेको छ । 

पर्यटक साहसिक खेल खेल्न रुचाउँछन् ।र्याफ्टिङका लागि सुकुटे चर्चित छ। स्विमिङ, र्याफ्टिङ, कायाकिङ, थ्रिल भ्यालीका पिङ, जिपलाइन, बिच भलिबल, भोटेकोशी किनारमा रात्रि रोमान्स, जंगल सफारी, उकाली–ओराली र पैदल यात्रा, रक क्लाइम्बिङजस्ता साहसिक खेल र आनन्द लुट्न आन्तरिक तथा बाह्य पर्यटक सुकुटे आउन लालायित हुन्छन्।

See More On

सुझावित समाचार