पछिल्लो समयमा वाम एकताको बहस चलिरहेको देखिन्छ । यस्तो एकताको सम्भावना कति देख्नुहुन्छ ?
राजनीतिमा सम्भावना नै नहुने भन्ने हुँदैन । संसदीय धारका कम्युनिस्टहरूको केन्द्रमा पार्टीसत्ता या राज्यसत्ता नै प्रमुख देखिन्छ । खासगरी वाम शक्तिबिच एकताको बहस हुँदै गर्दा त्यस्तो एकता किन र कसका लागि भन्ने विषयमा बहस केन्द्रित हुनुपर्छ । कम्युनिस्टहरू वर्गीय विचारधारामा आधारित हुन्छन् । उनीहरूको राजनीति सर्वहारा, उत्पीडित, पिछडिएका वर्ग र मजदुरका पक्षमा केन्द्रित हुनुपर्छ । यिनै भुइँतहका मानिसका हितको कोणबाट एकताको बहस अघि बढ्यो भने त्यो सकारात्मक नै हुन्छ । आखिर सत्ताका लागि त यसअघि पनि पटकपटक एकता भएकै हुन् क्यार ! तर, उनीहरू त्यस्तो एकतापछि फैलिनुभन्दा झन्झन् खुम्चिए । त्यसैले, निष्कर्षमा नपुगुन्जेल सतहमा यस्तो बहस चलिरहन्छ ।
नेपाली राजनीतिमा बारम्बार छिन्नभिन्न भइरहने कम्युनिस्ट आन्दोलनको पुनर्गठन किन आवश्यक छ ?
इमानदार शक्तिबिच पुनर्गठन जरुरी छ । अहिले कम्युनिस्ट शक्तिबिच बहसको शिथिलता छ । लेनिनले भनेझैँ ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु जरुरी छ यतिखेर । अहिले कम्युनिस्ट शक्तिहरू कता जाने भनेर रनभुल्लको स्थितिमा छन् । त्यसैले, पार्टी सत्तामा पकड जमाउने उद्देश्यले नभई इमानदारीपूर्वक पुनर्गठनको पहल जरुरी छ । किनकि, यतिखेर कम्युनिस्ट पार्टीभित्रका इमानदार शक्ति छटपटीमा छन् ।
कम्युनिस्ट शक्तिले विगतको जनमत पुनः फर्काउन कति सम्भव देख्नुहुन्छ ?
कमजोर वर्गको उत्थानका लागि सैद्धान्तिक र वर्गीय आधारमा हेर्दा कम्युनिस्टबाहेकको विकल्प छैन । तर, यसका लागि उनीहरूमा इमानदारीको खाँचो छ । विगतमा पनि इमानदारीपूर्वक जाँदा जनताले उनीहरूलाई पटकपटक विश्वास गरेकै हुन् । त्यसैले, यिनीहरू फेरि पनि इमानदार भएर आएमा विगतको विरासत फर्काउन असम्भव छैन ।