आइसिसी पुरुष क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार व्यहोरेको छ। वर्षाका कारण डिएलएस मेथडका आधारमा नेपाल १०२ रनले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ३६.५ ओभरमा सात विकेट गुमाएर मात्र १५५ रन जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ५५ बल खेलेका भीम सार्कीले २८ रन बनाउँदा आसिफ शेख र आरिफ शेखले क्रमशः १९ र १४ रन जोडे।
ओमानका नदिम खान एक्लैले तीन विकेट लिँदा सकिल अहमदले दुई तथा मोहम्मद इमरान र वसिम अलीले समान एक विकेट निकाले।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमानका कप्तान जतिन्दर सिंहले शतक बनाए। उनले ९६ बलमा १५ चौका र पाँच छक्कासहित १३० रन जोडेका हुन्। त्यसैगरी जितेन रामानन्दी ४३, आर्यन विस्ट ३५, हम्मद मिर्जा ३० तथा आशिष ओदेदरा र विनायक शुक्लाले समान २३ रनको योगदान गरे।
नेपालका लागि सोमपाल कामीले चार विकेट लिँदा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट हात पारे। उत्कृष्ट बलिङ गरेका लामिछानेले १० ओभरमा मात्र २४ रन खर्चिए।