नेपाली पुरुष क्रिकेट टोलीले बुधबार आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानको सामना गर्दै छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो । ओमान र नेपालबिच नौपटक एकदिवसीय खेलमा नवौँपटक प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघि भएका आठमध्ये नेपालले तीन खेलमा मात्र जित निकाल्न सफल भएको छ । ओमान भने पाँच खेलमा विजयी भएको छ । सबैभन्दा पछिल्लो खेल भने वर्षाले रद्द भएको छ । सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको सिरिजमा ओमानले नेपाललाई १ विकेटले हराएको थियो ।
त्यसअघि नेपालले ओमानलाई २०२३ को एसिसी प्रिमियर कप र २०२२ को लिग २ को खेलमा हराएको थियो । यसपटकको लिग–२ मा नेपालको प्रदर्शन राम्रो छैन । सहभागी आठ टोलीमध्ये नेपाल २१ खेलबाट १४ अंक जोड्दै पुछारबाट दोस्रो अथवा सातौँ स्थानमा छ । ओमान २५ खेलबाट २९ अंक जोडेर पाँचौँ स्थानमा छ ।
घरेलु मैदानमा र पछिल्लो समय ओमानको टोलीमा आएको परिवर्तनका कारण नेपाल फाइदा उठाउने योजनामा छ ।