- साबिक विजेता रोयल्स च्यालेन्जर्स बेंग्लोरका विराट कोहलीले २७५ खेलमा नौ हजार १२ रन बनाउन आठ शतक तथा ६६ अर्धशतकीय इनिङ्स खेलेका छन्
विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा नौ हजार रन पूरा गरेका छन् । आइपिएलमा नौ हजार रन प्रहार गर्ने उनी पहिलो भारतीय खेलाडी हुन् । १९औँ संस्करणमा सोमबार राति साबिक विजेता रोयल्स च्यालेन्जर्सं बेंग्लोरले दिल्ली क्यापिटल्समाथि नौ विकेटको सानदार जित निकाल्दा कोहलीले नटआउट २३ रनको योगदान दिएका थिए । उनले १५ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।
समग्रमा उनले आइपिएलमा नौ हजार १२ रन जोडेका छन् । आइपिएलको इतिहासमा कोहलीले अहिलेसम्म २७५ खेल खेलेका छन् । जसमा उनले ६६ अर्धशतक तथा आठपटक शतकीय इनिङ्स खेलेका छन् । आइपिएलको उनको उच्च स्कोर नै ११३ रन हो । बलिङका क्रममा उनले चार विकेट हात पारेका छन् । सन् २००८ मा आइपिएलमा डेब्यु गरेका कोहलीको अक्सन मूल्य २१ करोड भारु रहेको छ ।
सन् २०१६ सिजन उत्कृष्ट लयमा
बेंग्लोरबाट अनवरत रूपमा प्रतिस्पर्धा गरिरहेका कोहलीले आइपिएलको इतिहासमा सन् २०१६ को सिजनमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । यस सिजनमा उनले १६ खेलमा कीर्तिमानी रूपमा चार शतक तथा सात अर्धशतकीय योगदानसहित सर्वाधिक ९७३ रन जोडेका थिए । त्यसवेला उनले ८१.०८ को औसतमा ब्याटिङ गर्नुका साथै १५२.३ स्ट्राइक राखेका थिए । सन् २०२४ को सिजनमा उनले १५ खेलमा ७४१ रन जोडे । यो सिजनमा उनले एक शतक तथा पाँच अर्धशतकीय इनिङ खेलेका थिए ।
सन् २०१९ को सिजनमा उनले एक शतक तथा दुई अर्धशतक प्रहार गरी ४६४ रन जोडेका थिए । पहिलो संस्करणमा उनको प्रदर्शन खराब रह्यो । डेब्यु गरेको संस्करणमा उनले १३ खेलमा केवल १६५ रन मात्र जोडेका थिए । त्यो वेला उनको उच्च रन ३८ रहेको थियो । गत वर्ष बेंग्लोरलाई आइपिएलको उपाधि पहिलोपटक दिलाउने क्रममा कोहलीले ६५७ रन जोडेका थिए । उनले आठ अर्धशतकको सहयोगमा ६६ चौका र १९ छक्का प्रहार गरेका थिए । उनले सन् २०१३ मा १६ खेलमा ६३४ रन बनाउन ६ अर्धशतक खेले ।
दोस्रो स्थानमा रोहित
सर्वाधिक आइपिएल विजेता मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्मा धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा छन् । उनले मुम्बईबाट २७१ इनिङ्समा सात हजार एक सय ८३ रन जोडेका छन् । यसैगरी, दिल्लीका पूर्वओपनर शिखर धवन तेस्रो स्थानमा छन् । उनले २२१ इनिङ्समा ६ हजार ७ सय ६९ रन बटुलेका छन् । डेभिड वार्नर ६ हजार ५ सय ६५ रनका साथ चौथो स्थानमा छन् । यसैगरी, लोकेश राहुलले १४४ खेलमा ५ हजार ५८० रन जोड्दै पाँचौँ स्थान रक्षा गरेका छन् । चालू सिजनमा उनले एक शतकीय इनिङ्स खेलिसकेका छन् । कोहलीले आइपिएलमा चार टोलीविरुद्ध एक हजार रन प्रहार गरेका छन् । उनले सबैभन्दा धेरै रन चेन्नई सुपर किंग्सविरुद्ध बटुलेका छन् । उनले चेन्नईसँगको खेलमा १ हजार १ सय ७४ रन जोडेका छन् । यसैगरी, दिल्ली क्यापिटल्सविरुद्ध उनले १ हजार १ सय ७२ रन बनाए । विराटले कोलकाता नाइट राइडर्सविरुद्ध १ हजार १ सय ६१ रन बनाए । पन्जाब किंग्सविरुद्ध उनले १ हजार १ सय ५९ रन बनाएका छन् ।
पावर प्लेमा दिल्लीको कम योगफल
बेंग्लोरविरुद्धको प्रतिस्पर्धामा दिल्लीले इतिहासकै कमजोर प्रदर्शन गर्यो । दिल्लीले पहिलो पावर प्लेमा ६ विकेट गुमाएर १३ रन मात्र जोडेको थियो । यसअघि सन् २००९ मा केपटाउनमा भएको संस्करणमा राजस्थान रोयल्सले पावर प्लेमा १४ रन खर्चेर दुई विकेट गुमाएको थियो । सन् २०२२ मा सनराइजर्स हैदराबादले राजस्थानविरुद्ध पावर प्लेमा १४–३ को प्रदर्शन गरेको थियो । सन् २०११ मा चेन्नईले कोलकातासँगको खेलमा पहिलो ६ ओभरमा १५–२ को प्रदर्शन गर्यो । पावर प्लेमा धेरैपटक कम रन बनाउने खराब इतिहास चेन्नईको नाममा छ । चेन्नईले सन् २०१५ मा दिल्लीसँगको खेलमा १६–१ र बेंग्लोरविरुद्ध १६–१ कै प्रदर्शन गर्यो ।