उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’को प्रदर्शन वैशाख २२ गतेसम्म रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। रोशनी नेपालीले दायर गरेको रिटमा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अन्तरिम आदेश दिने नदिने विषय भने छलफलपछि मात्र टुंगिने उल्लेख गर्दै उच्चले वैशाख २२ गतेको पेसी तोकेको छ। साे अवधिसम्म चलचित्रकाे सार्वजनिक प्रदर्शनीमा राेक लगाइएकाे हो।
चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गर्दै नेपालीले चलचित्रकाे प्रदर्शन राेक्न माग गरी सोमबार रिट दायर गरेकी थिइन्। रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने औँल्याउँदै अदालतले सुविधाको सन्तुलनका आधारमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएकाे छ।
अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। रिट निवेदकको मागबमोजिमको आदेश जारी गर्न नपर्ने भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो।