चन्द्रगढी महिला गोल्डकपको उपाधि एपिएफलाई

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण
  • रश्मिकुमारी घिसिङको एक मात्र गोलको सहयोगमा नेपाल एपिएफले उपाधि भिडन्तमा त्रिभुवन आर्मीलाई हरायो

नेपाल एपिएफ क्लबले सोमबार पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकपको उपाधि उचालेको छ । मेची रंगशालामा भएको उपाधि भिडन्तमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई १–० को झिनो अन्तरले हराएको हो । जितसँगै एपिएफले ११ लाख र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पाएका छन् । एपिएफलाई उपाधि दिलाउने क्रममा एक मात्र निर्णायक गोल रश्मिकुमारी घिसिङले गरेकी थिइन् । 

उनले खेलको ७२औँ मिनेटमा एपिएफलाई १–० को अग्रता दिलाइन् । कप्तान अनिता बस्नेतको लामो पासमा डिबक्समा रहेकी रश्मिकुमारीले दोस्रो बार च्याप्दै हेडिङ गोल गरेकी हुन् । दुई विभागीय टोलीबिचको फाइनल प्रतिस्पर्धा बन्यो । दुवै टोलीले गोलका लागि निकै प्रयास गरेका थिए । तर, फिनिसिङमा कमजोर देखिँदा हार र जितमा गोल अन्तर थोरै भएको हो । 

एक गोलले पछि परेको आर्मीले एपिएफमाथि दबाब बढाएको थियो । आर्मी दुवै हाफमा बराबरी गोल गर्ने कोसिस देखिन्थ्यो । तर, आर्मीका खेलाडी गोल गर्न असफल भए । आर्मी फिनिसिङ लाइन बारम्बार चुकिरह्यो । अधिकांश समय बल पोसेसन राखेको एपिएफले पनि थप गोल गर्न सकेन । गत कात्तिकमा झापाको दुधेमा भएको झापा महिला गोल्डकपमा उपविजेता बनेको एपिएफले ६ महिनापछि एपिएफलाई हराउँदै हारको बदला लियो । 

एपिएफले पाएको एउटा मौकालाई सदुपयोग गर्दा च्याम्पियन बयो । तर, एपिएफले एक गोलको अग्रता रक्षा गर्न धेरै मिहिनेत गरेको थियो । एपिएफसँग सधैँ हारको सामना गरिरहेको आर्मीले यसपटक दबदबा तोड्ने रणनीतिका साथ मैदानमा उत्रिएको थियो । तर, आर्मीको त्यो रणनीति सफल नहुँदा पुरानै दृश्य दोहोरिएको हो । एपिएफकी मिडफिल्डर सरु लिम्बू फाइनलका उत्कृष्ट खेलाडी हुँदै ११ हजार रुपैयाँ प्राप्त गरिन् । 

एपिएफकी रेनुका सर्वोत्कृष्ट खेलाडी
पहिलो संस्करणको चन्द्रगढी गोल्डकपमा उपाधि विजेता नेपाल एपिएफकी रेनुका नगरकोटी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइन् । उनले एक लाख रुपैयाँ प्राप्त गरिन् । यस्तै, उत्कृष्ट गोलरक्षक एपिएफकी अञ्जना रानामगर र उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना भएका छन् । आर्मीकी दीपा शाही प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ ठहरिएका छन् । राइजिङ प्लेयर आयोजक चन्द्रगढी युथ क्लबकी सबनम राई भइन् । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे । 

See More On

सुझावित समाचार