स्थानीय न्यायिक सुदृढीकरणका लागि कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूले बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीमा न्यायिक समितिहरूको प्रथम न्यायिक सम्मेलन आयोजना गरेका छन्।
आइतबारदेखि सुरु भएको उक्त सम्मेलन वैशाख १३ र १४ गतेसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू तथा छिमेकी जिल्ला अछाम र कर्णाली प्रदेशअन्तर्गत मुगु, कालीकोट र हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको बुढीगंगा नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति सदस्य माया कुँवरले जानकारी दिइन्।
उनका अनुसार यस सम्मेलनले स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। न्यायिक समितिमार्फत स्थानीयस्तरमै छिटो, छरितो, सुलभ र निष्पक्ष न्याय प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
गौमल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाका अनुसार न्यायिक समितिहरूलाई अझ सशक्त बनाउँदै जनताको न्यायमा पहुँच सहज बनाउन विभिन्न तहबिच समन्वय आवश्यक रहेकाले कर्णाली र सुदूरपश्चिमका केही जिल्लाको संयुक्त आयोजनामा यो सम्मेलन गरिएको हो।
सम्मेलनको उद्देश्य न्यायिक समस्याहरूको समाधान खोज्नु, अनुभव आदान–प्रदान गर्नु तथा न्याय सम्पादन प्रक्रियालाई व्यवस्थित बनाउनु रहेको सहभागीहरूले बताएका छन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा न्यायिक समितिको कार्यप्रणाली, चुनौती तथा समाधानका उपायहरूबारे छलफल हुनुका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
स्थानीय न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।