अर्थमा कर्मचारी सरुवाले बजेट लेखन प्रभावित

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आउन एक महिना बाँकी रहेको संवेदनशील चरणमै सरकारले बजेट लेखन समितिका सदस्यहरू सरुवा गरेको छ । यसले सरकार गठनकै कारण ढिला सुरु भएको बजेट लेखन थप प्रभावित भएको छ । समिति गठन भएको एक महिना नबित्दै दुई सदस्य हटाइँदा नयाँ टिमसमेत पूर्ण हुन नसकेको अवस्थामा छ ।

१५ जेठमा संसद्मा बजेट टेबल गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, आवश्यक तयारीले पूर्णता नपाउँदै अर्थ मन्त्रालयका कर्मचारी सरुवा भएका हुन् । २१ फागुनको निर्वाचनका कारण सरकार गठनका कारण बजेटतालिका नै प्रभावित भएर ढिलो गरी बजेट लेखन समिति गठन भएको थियो ।

अर्थ मन्त्रालयले २० चैतमा बजेट लेखन समिति गठन गरेको थियो । तर, १० वैशाखमै मन्त्रिपरिषद्ले समितिका सदस्य सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई सरुवा गर्यो । बजेट तयारीकै निर्णायक घडीमा गरिएको सरुवाबारे मन्त्रालयले औपचारिक कारण खुलाएको छैन । अर्थसचिव डा. घनश्याम उपाध्यायले कर्मचारी व्यवस्थापन टुंगो लागेपछि एक–दुई दिनमै समितिले पूर्णता पाउने बताएका छन् । ‘मन्त्रिपरिषद्बाट सरुवा भएपछि नयाँ व्यवस्थापन मिलाउन समय लागेको हो,’ उनले भने ।

सहसचिव भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ । समितिको संयोजकमा सहसचिव तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन् । सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा छन् । तर, प्रमुख सदस्यहरूको सरुवापछि समितिको काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिएको छ ।

यो समितिलाई आगामी बजेटको सिद्धान्त, प्राथमिकता, कार्यक्रम र बजेट वक्तव्यको मस्यौदा तयार गर्ने महŒवपूर्ण जिम्मेवारी दिइएको छ । साथै, वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव दिने, आयोजना प्राथमिकीकरण गर्ने र विनियोजन विधेयकको आधार तयार गर्ने कामसमेत यही समितिले गर्छ ।सहमहालेखा नियन्त्रक सुशीला अर्यालको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ ।

बजेटको मुखमै आन्तरिक राजस्व विभागसमेत नेतृत्वविहीन बनेको छ । विभागका महानिर्देशक मदन दाहाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएपछि हालसम्म नयाँ महानिर्देशक नियुक्त भएको छैन । 

राजस्व नीति तथा कर दर निर्धारणको मुख्य जिम्मेवारी बोकेको निकायमै नेतृत्व अभाव हुँदा बजेट तयारी प्रभावित हुने चिन्ता बढेको छ । बजेट निर्माणको महत्वपूर्ण घडीमै भएको व्यापक सरुवाले अर्थ मन्त्रालयको कार्यसम्पादन र नीतिगत तयारी चुनौतीपूर्ण बन्दै गइरहेको छ । 

 अर्थमा जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयभित्रै पनि कर्मचारी सरुवाको लहर चलेको छ । प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंज्ञानी सेवानिवृत्त भएपछि टंकप्रसाद पाण्डेयलाई जिम्मेवारी दिइएको छ । योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा अमृत लम्साल पठाइएका छन् ।

भन्सार विभागको उपमहानिर्देशकमा टंकनाथ लम्साललाई पठाइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई मन्त्रालय तानिएको छ । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको भूमिकामा रहेका सहसचिव महेश बरालको पनि मधेश प्रदेशकै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ ।

सुझावित समाचार