आइसिसी च्यालेन्ज ट्रफी : अमेरिकाविरुद्ध नेपालको कमजोर ब्याटिङ

नेपालले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेटको नोक्सानीमा पूरा गर्‍यो

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

आइसिसी च्यालेन्ज ट्रफीमा नेपाली महिला खेलाडीले लगातार दोस्रो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेका छन् । रुवान्डामा चलिरहेको च्यालेन्ज ट्रफीमा नेपालविरुद्ध अमेरिकाले सात विकेटको सानदार जित निकाल्यो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८६ रनको झिनो योगफल बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाएर सानदार सात विकेटको जित हात पारेको हो । अघिल्लो खेलमा नेपाल भानुआटुसँग पराजित भएको थियो । 

पाँचौ खेलमा नेपालको यो तेस्रो हार हो । दुई खेल जितेको नेपालसँग ४ अंक रहेको छ । नेपाल चौथो स्थानमा छ । अमेरिका ८ अंकका साथ शीर्ष स्थानमा उक्लियो । यसअघिको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग हारेको थियो । 

रुबीको अर्धशतकीय इनिङ्स
अमेरिकाको कसिलो बलिङमा शीर्ष ब्याट्सम्यान चुके । सम्झना खड्का १, विन्दु रावल ३ र पूजा महतो ८ रनमा आउट भएका थिए । नेपालले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो । नेपालकी ओपनर सम्झना अमेरिकी बलर माही माधवनको ओभरमा क्याच आउट भइन् । त्यसपछि ४.४ ओभरमा विन्दु र ९.६ ओभरमा पूजा आउट हुँदा नेपाल २०/३ को कमजोर स्थितिमा पुग्यो । यसैगरी कविता जोशी पनि १ रनमै आउट भइन् । उनी आउट हुँदा नेपाल १२.१ ओभरमा २७–४ को दयनीय अवस्थामा थियो । 

फितलो ब्याटिङ प्रदर्शनमा नेपालकी विकेटकिपर रुबीले अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । उनले ५१ बल सामना गरी ५१ रनको योगदान दिइन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरेकी थिइन् । उनी खेलको अन्तिमसम्म आउट भइनन् । यसबाहेक कप्तान इन्दु बर्माले १० बलमा ८ तथा कविता कुँवरले सात बलमा ८ रनको योगदान दिइन् । अमेरिकाको बलिङमा माहीले चार ओभरमा एक मेडन राखी १६ रन खर्चेर दुई विकेट हात पारिन् । यसैगरी लेख सेठीले तीन ओभरमा केवल ३ रन मात्र दिइन् । सैनाभीले ९ रन खर्चेर एक विकेट लिइन् । 

अमेरिकाको मध्यक्रम बलियो
सहज लक्ष्य पछ्याएको अमेरिकाको मध्यक्रम ब्याटिङ निकै बलियो रह्यो । ओपनर सैनाभीले १७ बलमा २१ रन बटुली अमेरिकालाई गतिलो सुरुवात दिलाइन् । उनले आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरेकी थिइन् । अमेरिकाले इनिङ्सको २.३ ओभरमा पहिलो विकेटका रूपमा रेडीलाई एक रनमा गुमाएको थियो । त्यसपछि सैनाभी र इसानी भेधेलाले दोस्रो विकेटका लागि १६ रनको साझेदारी गरे । इसानीले विकेटकिपर पूजा गणेशसँग तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै अमेरिकालाई ६०/३ को बलियो स्थितिमा पुर्याइन् । 

इसानीको नटआउट योगदान
इसानीले अन्तिमसम्म आउट नभईकन २९ बलमा पाँच चौका र एक छक्का प्रहार गरेकी थिइन् । उनले अमेरिकालाई जित दिलाउन महत्वपूर्ण ३५ रनको योगदान दिइन् । पूजाले आठ बल सामना गरी पाँच चौकाको सहयोगमा २० रनको योगदान दिइन् । गार्गी भोग्लेले १० बलमा तीन चौका प्रहार गरी १२ रन बनाइन् । नेपाली बलरले अमेरिकाविरुद्ध अतिरिक्त रन दिएनन् । बलिङका क्रममा मनीषा उपाध्यायले तीन ओभरमा एक मेडन राखी एक विकेट लिँदा १३ रन खर्चिइन् । पूजा महतोले ९ रन दिएर एक विकेट लिइन् । सुमन विष्टले एक ओभर बलिङ गर्दा १३ रन दिइन् । 

सुझावित समाचार