खाँदबारी बजारको ढल व्यवस्थापन कार्य ३० प्रतिशत सम्पन्न

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी बजारको ढल व्यवस्थापन कार्य अघि बढेको छ। खाँदबारी ढल व्यवस्थापन आयोजनाअन्तर्गत हालसम्म हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ।

खाँदबारीमा बढ्दो जनसंख्या चापको कारण फोहोर मैला व्यवस्थापन गर्न गाह्रो परिरहेको वेला नगरपालिकाको अगुवाइमा ढल व्यवस्थापन कार्य अघि बढेको हो। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाले गत २०८२ असारमा ठेक्का निकाली एमएमसिआरएसएनएस जेभी निर्माण कम्पनीसँग १८ करोड २३ लाख रुपैयाँमा सम्झौता भई काम भइरहेको मेयर महेश थपलियाले बताए।

निकै जोडबलका साथ खानेपानी मन्त्रालय र विभागसँग पटक–पटक पहल गर्दा खाँदबारी बजारको ढल व्यवस्थापनका लागि क्रमागत बजेट रहने गरी ७१ करोड रुपैयाँ विनियोजन गर्न सफल भएको उनको भनाइ छ। पहिलो चरणमा अहिले खाँदबारीदेखि सुकेचौरसम्म करिब ८ किमि जमिनमुनि पाइप राखेर बजारको ढल व्यवस्थापन कार्य अघि बढेको हो।

‘खाँदबारी व्यवस्थापनका लागि कुल बजेट ७१ करोड रुपैयाँ हो, क्रमागत रूपमा पहिलो वर्ष २२ करोड रुपैयाँमध्ये १८ करोड २३ लाखमा सम्झौता भई काम भइरहेको छ,’ मेयर थपलियाले भने, ‘ढल व्यवस्थापन कार्य खाँदबारी नगरपालिकाले गौरवको आयोजनाको रूपमा लिएको छ।’

खाँदबारीको ढल व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढेको निर्माण कम्पनी एमएमसिआरएसएनएस जेभीका मिलन गौतमले बताए। अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको र तोकिएको अवधिसम्म निर्माण कार्य पूरा गरिने उनले बताए। ‘घर–घरबाट आएको फोहोरमैला ढल व्यवस्थापनस्थलमा जम्मा हुन्छ र त्यहाँ छानेर पानी बाहिर पठाइन्छ। त्यो पानी मानिसहरूले पिउनबाहेक खेतीकिसानी र सिँचाइका लागि प्रयोग गर्न सकिन्छ,’ गौतमले भने।

ढुंगेधारा ठुलोपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीय दिव्यराज श्रेष्ठले पछिल्लो समय खाँदबारी नगरपालिका गम्भीर भएर लागेपछि बजारको फोहोरमैला व्यवस्थापनमा केही सुधार भएको बताए। उनका अनुसार केही समयअघिसम्म ट्याक्टरले फोहोरमैला संकलन गरेर आउँदा पनि बाटोमा खसाल्दै ल्याउने, ल्यान्डफिल साइटमा झिंगा फैलिएर वरपरका गाउँबस्तीसम्म समस्या भएको थियो। अहिले माथिबाट नै फोहोर छुट्याएर ल्याउन थालेपछि सुधार भएको छ। 

खाँदबारीको मुटु भानुचौक जिल्ला समन्वयदेखि बरुण बोर्डिङ स्कुल हुँदै खाँदबारी नगरपालिका–९ मा पर्ने सुकेचौरमा पुगेर ढल व्यवस्थापन निर्माण कार्य भइरहेको छ। जमिनमुनि प्लास्टिकको बलियो र ठुलो पाइन बिछ्याइनेछ, ठाउँ–ठाउँमा १४ वटा ट्यांकी निर्माण हुनेछ। बजारको ढल ती ट्यांकीहरूमा जम्मा हुँदै सुकेचौरसम्म पुग्नेछ। सुकेचौरमा नगरपालिकाले धेरै वर्षअगाडि नै ढल व्यवस्थापन र ल्यान्डफिलका लागि ७५ रोपनी जग्गा खरिद गरेको थियो। यो योजनाले करिब ८ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।

आगामी वर्ष भानुचौकभन्दा माथिसम्म ढल व्यवस्थापन कार्य अघि बढ्ने खाँदबारी नगरपालिकाले जनाएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाले २०८२ असारमा ठेक्का निकाली एमएमसिआरएसएनएस जेभी निर्माण कम्पनीसँग १८ करोड २३ लाख रुपैयामा सँम्झौता गरेको थियो। ०८४ असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्नेछ।

सुझावित समाचार