इटालीले अस्वीकार गर्‍यो राष्ट्रपति ट्रम्पको प्रस्ताव

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउने चाहना तुहिएको छ । इटालीले बिहीबार राति कसैको स्थानमा आफूहरूले नखेल्ने र आएको प्रस्ताव स्वीकार नगर्ने जनाएको छ । राष्ट्रपति ट्रम्पले बुधबार इरानको स्थानमा इटालीलाई विश्वकपमा समावेश गर्नुपर्ने प्रस्ताव फिफासमक्ष पठाएका थिए । यस सम्बन्धमा छलफल हुनुअघि नै इटालीले विश्वकप नखेल्ने प्रस्ट पारेको फाइनान्सियल टाइम्सले जनाएको छ । 

इटालीका अर्थमन्त्री गिआकार्लो गिओगेटीले राष्ट्रपति ट्रम्पको योजना र प्रस्ताव हास्यास्पद र लाजमर्दो भएको बताएका छन् । ‘राष्ट्रपति ट्रम्पले विश्वकपसम्बन्धी फिफालाई पठाएको प्रस्ताव लाजमर्दो हो,’ अर्थमन्त्री गिओगेटीले एएनसा एजेन्सीसँग भने, ‘हामी कसैको भाग खोसेर विश्वकप खेल्न तयार छैनौँ । इटालीले छनोट चरण पार गरेरै विश्वकप खेल्नेछ ।’ चारपटकको विश्वकप विजेता इटाली लगातार तेस्रोपटक छनोट चरणबाटै बाहिरिएको थियो । सन् २०१४ पछि इटालीले विश्वकपमा स्थान बनाउन सकेको छैन । 

बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएपछि इटाली विश्वकप छनोटबाट बाहिरिएको थियो । इटालीले सन् २००६ मा चौथोपटक विश्वकप ट्रफी जितेको थियो । अर्कोतिर फिफाका अध्यक्ष गिआनी इन्फान्टिनो भने इरानलाई विश्वकपमा खेलाउन चाहन्छन् । गिआनीकै योजनाअनुसार यसपटक ४८ राष्ट्रबिच विश्वकप हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आगामी जुन–जुलाईमा विश्वकप आयोजना गर्दै छन् । यसअघि ३२ टोलीबिच विश्वकप भएको थियो । 

अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण फुटबल क्षेत्रमा पनि यसको असर परेको छ । गत महिना इरानले अमेरिकी भूमिमा आफूहरू विश्वकप नखेल्ने घोषणा गरेको थियो । ‘अमेरिकामा हाम्रा खेलाडी सुरक्षित छैनन् । अमेरिकामा विश्वकप खेल्नु हाम्रो राष्ट्रको नीतिविपरीत हुनेछ,’ तत्काल इरानका खेलकुदमन्त्रीले भनेका थिए, ‘इरानी जनता र फुटबल खेलाडी राष्ट्रियताभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन् ।’

इटालीसँग सम्बन्ध सुधार्ने नीति
राष्ट्रपति ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबिच सम्बन्ध राम्रो छैन । ट्रम्पले इसाई धर्मगुरु पोपको आलोचना गरेपछि मेलोनी रिसाएकी थिइन् । इटालीसँग सम्बन्ध पुनः राम्रो बनाउन ट्रम्पले विश्वकपको कार्ड फ्याँकेर प्रधानमन्त्री मेलोनीलाई खुसी पार्ने प्रयास गरेको इटाललियन एजेन्सी एएनसाको दाबी छ । ‘ट्रम्पको योजना नै विश्वकपका माध्यमबाट प्रधानमन्त्री मेलोनीसँगको सम्बन्ध सुधार्ने चाहना हो,’ एएनसाले उल्लेख गरेको छ, ‘तर, इटाली यस्तो फोहोरी खेलमा पर्न चाहँदैन ।’ ट्रम्पले इटालीको सहयोगमा अन्य युरोपियन राष्ट्रसँग पनि नजिक हुन खोजेको जनाइएको छ ।

इटाली फिफा वरीयतामा १२औँ स्थानमा छ । विश्वकपमा छनोट नभएका राष्ट्रमध्ये इटाली सबैभन्दा माथिल्लो स्थानमा छ । इटालीका नागरिक भने ट्रम्पले इरानसँग गरिरहेको युद्ध र महँगीका कारण खुसी छैनन् । अमेरिकी प्रशासनले भने विश्वकपमा लियोनल मेसीको उदाहरण प्रस्तुत गरेको छ । ‘तपार्इँ आफैँ कल्पना गर्नुस् । मेसीविनाको विश्वकप कस्तो हुन्छ,’ अमेरिकाको प्रशासनले भनेको छ, ‘चारपटक विश्व च्याम्पियन इटाली विश्वकपमा नहुँदा खल्लोपना आउनेछ । यसैकारण हामी इरानको स्थानमा इटालीलाई खेलाउन चाहेका हौँ ।’

फिफाको हातमा अन्तिम निर्णय
इरानको फुटबल संघले अमेरिकी भूमिमा विश्वकप नखेल्ने हतारमा निर्णय गरेको थियो । अहिले भने आफूहरू आगामी विश्वकप खेल्न तयार रहेको र सहभागिता जनाउने जनाएको छ । यद्यपि, इरानले विश्वकप खेल्ने वा नखेल्ने सम्बन्धमा अन्तिम निर्णय भइसकेको छैन । वास्तवमै इरानले विश्वकप नखेल्दा उसको स्थान कसले लिनेछ ? यो प्रश्न सबैका सामु छ । यसको अन्तिम निर्णय विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले गर्नेछ । तर, यसका लागि इरानले आफ्नो धारणा आधिकारिक रूपमा प्रस्ट पार्नुपर्छ । 

फिफाका अध्यक्ष इन्फान्टिनोले पनि इरानले छनोट चरण पार गरेर आएकाले उसैले खेल्नुपर्ने बताउँदै आएका छन् । ‘इरानले विश्वकप अवश्य खेल्नेछ । अमेरिकामा फिफा इरानलाई स्वागत गर्न तयारी अवस्थामा छौँ,’ इन्फान्टिनोले भने, ‘केही दिनपछि यसको निर्णय हुनेछ ।’ फिफाको नियमअनुसार छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएको राष्ट्रले पछि नाम फिर्ता लियो भने त्यसको ठाउँमा कसलाई राख्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार फिफासँग मात्र हुन्छ । ‘विश्वकपमा छनोट भएको राष्ट्रले नाम फिर्ता लिँदा उसको स्थानमा कसलाई राख्ने भन्ने निर्णय फिफाबाहेक अरूले लिन सक्दैन,’ फिफाले भनेको छ । यसअघि लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई पनि फिफाले विशेष अधिकार प्रयोग गरेर क्लब विश्वकपमा प्रवेश दिएको थियो । अहिले फिफा क्लब विश्वकपमा जस्तो अवस्था नहोस् भन्ने पक्षमा छ ।

See More On

सुझावित समाचार