बुटवलमा गर्भपतन सेवा लिँदा मृत्यु भएको प्रकरणमा तत्कालका लागि एकजना चिकित्सकलाई निलम्बन र दुईवटा क्लिनिक सिल गर्न सिफारिस भएको छ । पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको गर्भपतन सेवा लिने क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले गरेको अध्ययन र सिफारिसका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित छानबिन समितिले डा. सतिश रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको थियो । सोही आधारमा काउन्सिलले निलम्बन गरेको हो । समितिले घटनाको छानबिन गरी काउन्सिलका उपाध्यक्ष डा. कुन्जन शेर्पा र रजिस्ट्रार डा. सतिशकुमार देवलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनपछि रूपाखेतीलाई बिरामी जाँच तथा उपचारमा संलग्न हुन नपाउने गरी तत्कालका लागि निलम्बन गएिको छ । छानबिन समितिको सिफारिसअनुसार जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई सिलबन्दी गरेर आवश्यक कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । घटनामा फौजदारी अभियोग आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै थप अनुसन्धानपछि मात्रै अन्तिम निर्णय हुने जनाइएको छ ।
६ सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाही, अवैध क्लिनिक बन्द, नियमित अनुगमन कडाइ तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई दर्ता र नियमन गर्ने सुझाव दिएको छ । समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले विभिन्न पक्षको अध्ययन गरी प्रतिवेदन बुझाइएको बताए । पाल्पा बगनासकाली गाउँपालिका–२ की गीता पाण्डे गर्भ जाँचका क्रममा बुटवलमा आएकी थिइन् । श्रीमान्सहित बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होममा २७ चैतमा पुगेकी उनी डाक्टरको सल्लाहअनुसार ४ वैशाखमा पुनः गइन् । तर, त्यस दिन चेकजाँच नभएपछि ५ वैशाखमा श्रीमान्सहित आएकी थिइन् । गर्भ जाँच गर्दा गर्भ असामान्य भएको भन्दै गर्भपतन गर्न सल्लाह पाएपछि सेवा लिन नर्सिङ होम र क्लिनिक धाउँदाधाउँदै उनको ज्यान गएको थियो ।
करिब १२ हप्ताको गर्भपतन सेवामा स्वास्थ्यकर्मीहरूको लापरबाही गरेको पीडित पक्षको गुनासो छ । गीताका श्रीमान् प्रकाश पाण्डेका अनुसार खत्री नर्सिङ होमका डा. डिबी खत्रीले गर्भ असामान्य भएको बताउँदै ४ वैशाखका लागि बोलाएका थिए । गीता ५ वैशाखमा खत्री नर्सिङ होम गइन् । नर्सिङ होमले लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको पाण्डेको भनाइ छ ।जोनलबाट इन्दुलेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको प्रकाशले बताए । इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीले चेकजाँच गरेको उनको भनाइ छ । उनले श्रीमती बेहोस भइसकेपछि लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए । श्रीमतीको मृत्युलाई प्रकाशले उपचारमा चरम लापरबाही भन्दै डा. डिबी खत्री र डा. सतिश रूपाखेतीसहित स्वास्थ्य संस्थाका सञ्चालक सन्ध्या बस्नेत (जोनल फार्मेसी/क्लिनिक सञ्चालक), निलम घर्तीमगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक)लाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।
मापदण्डविपरीत सञ्चालित १७ वटा मेडिकल तथा स्वास्थ्य संस्था बन्द
रुपन्देहीमा मापदण्डविपरीत तथा विनाअनुमति सञ्चालन भएका १७ वटा मेडिकल तथा स्वास्थ्य संस्था बन्द गराइएको छ । मापदण्डविपरीत र इजाजत नलिई सञ्चालित १७ मेडिकल बन्द गराइएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जिसीसमेतको प्रहरी टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही स्वास्थ्य प्रमुख उमादेवी थापा, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधसिहितको टोलीले भैरहवा क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमन गर्दा १७ वटा विभिन्न मेडिकल क्लिनिक तथा फार्मेसीहरू दर्ता नभएका तथा मापदण्डविपरीत सञ्चालन रहेको भेटिएको टोलीले जनाएको छ ।