मध्यपूर्व एसियामा बढ्दो भूराजनीतिक तनावको प्रत्यक्ष असर नेपालका उद्योग क्षेत्रमा देखिन थालेको छ । कच्चा पदार्थ र इन्धनका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर हेटौँडाका उद्योगहरू अहिले आपूर्ति शृंखलामा आएको अवरोध र पेट्रोलियमलगायतमा भइरहेको मूल्यवृद्धिका कारण गम्भीर संकटमा परेका छन् ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र रहेका एक सय ४७ प्लटमध्ये एक सय २६ मा उद्योग सञ्चालनमा छन् । तर, तीमध्ये अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योगहरू कच्चा पदार्थ अभाव र लागत वृद्धिका कारण उत्पादन कटौती गर्न बाध्य भएका छन् ।
विशेषगरी पेट्रोलियम पदार्थमा आधारित कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा अप्रत्याशित रूपमा बढेपछि त्यसको असर औद्योगिक क्षेत्रमा पनि परेको हो । प्लास्टिकका दानादेखि खाद्य उद्योगका लागि आवश्यक गहुँसम्मको आयात प्रभावित भएको उद्योगीहरू बताउँछन् । यसको असर बजारमा कृत्रिम अभाव र मूल्यवृद्धिका रूपमा देखिन थालेको छ ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माका अनुसार हालको परिस्थितिमा उद्योग सञ्चालन अत्यन्तै चुनौतीपूर्ण बन्दै गएको छ । हेटौँडाका उद्योगहरू आयातित कच्चा पदार्थमा पूर्ण निर्भर भएकाले अन्तर्राष्ट्रिय द्वन्द्वको असर सिधै उत्पादनमा परेको उनको भनाइ छ ।
कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र इन्धन आपूर्तिमा समस्या हुँदा उत्पादन क्षेत्र नराम्ररी प्रभावित भएको अध्यक्ष शर्माले बताए । ‘यदि यही अवस्था कायम रह्यो भने दैनिक तीन करोड रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘विशेषगरी प्लास्टिक उद्योग सबैभन्दा बढी प्रभावित छन् । ठुला व्यापारीहरूले कच्चा पदार्थको भाउ ५०–५५ प्रतिशतसम्म बढाइसकेका छन्, बजारमा कृत्रिम अभाव पनि देखिन थालेको छ ।’
अध्यक्ष शर्माले खाद्य उद्योगसमेत संकटमा परेको उल्लेख गर्दै गहुँजस्ता आधारभूत कच्चा पदार्थ पनि आयातमा निर्भर रहँदा उत्पादन अस्थिर बनेको बताए । अहिलेको अवस्था लम्बिए धेरै उद्योग बन्द हुने जोखिम रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो केही महिनामै प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिक दानाको मूल्य झन्डै दोब्बरले बढेको छ । पेन्ट उद्योगमा प्रयोग हुने इमल्सनजस्ता पेट्रोलियम आधारित कच्चा पदार्थको मूल्यसमेत उकालो लागेको छ भने उपलब्धता घट्दै गएको छ । उनका अनुसार उद्योगीहरू अहिले दोहोरो मारमा परेका छन् ।
एकातिर इन्धनको मूल्यवृद्धिले ढुवानी खर्च बढाएको छ भने अर्कोतर्फ विद्युत् आपूर्तिमा समस्या हुँदा महँगो डिजेल प्रयोग गरेर जेनेरेटरमार्फत उद्योग सञ्चालन गर्नुपरेको छ ।
यता औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाकी क्षेत्र व्यवस्थापक संगीता कुँवरले पनि आफूले उद्योगी–व्यवसायीसँगको कुराकानीबाट उद्योगहरूमा कच्चा पदार्थको मौज्दात अवस्था अत्यन्तै सीमित हुँदै गएको बताइन् । ‘मैले व्यक्तिगत र संस्थागत रूपमा पनि उद्योगीसँग पछिल्लो अवस्थाका बारेमा बुझिरहेको छु । कतिपय उद्योगहरूमा अहिले मौज्दात रहेको कच्चा पदार्थले बढीमा एक–डेढ महिनासम्म मात्रै उत्पादन धान्न सक्ने अवस्था छ,’ उनले भनिन्, ‘कतिपय उद्योग ४०–५० प्रतिशत क्षमतामा मात्र पनि सञ्चालन भइरहेका छन् ।’
उनका अनुसार यो समस्या प्लास्टिक उद्योगमा मात्र सीमित छैन, खाद्यान्नलगायतका अन्य उद्योगहरूमा पनि विस्तार हुँदै गएको छ । उत्पादनमा आएको गिरावटले आगामी दिनमा रोजगारीमा समेत असर पर्ने संकेत देखिएको उनले बताइन् । उद्योगीहरूले वर्तमान समस्या समाधानका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति, कूटनीतिक पहलमार्फत आपूर्ति शृंखला स्थिर बनाउने, बैंकिङ क्षेत्रबाट ब्याजदर र भुक्तानी प्रक्रियामा सहुलियत दिनेजस्ता कदम तत्काल आवश्यक रहेको उनको भनाइ छ । साथै, ६० वर्षदेखि उही ढाँचामा चलिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने र बजारमा फैलिएको नकारात्मक ‘सेन्टिमेन्ट’ नियन्त्रण गर्न सरकारले विश्वास दिलाउने नीति लिनुपर्ने उनले बताइन् ।
अहिलेको संकट लम्बिँदै गएमा उत्पादन कटौती मात्र होइन, उद्योग बन्द हुने र त्यसले रोजगारी, राजस्व र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढ्दै गएको उद्योग क्षेत्रको निष्कर्ष छ ।