चन्द्रगढी महिला गोल्डकप : आर्मीले उपाधि भिडन्तमा एपिएफको सामना गर्ने

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
  • मेची रंगशाला भद्रपुरमा त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबबिच सोमबार फाइनल खेल

पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त दुई विभागीय क्लबबिच हुने भएको । मेची रंगशाला भद्रपुरमा त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबबिच फाइनल खेल हुनेछ । प्रतियोगिताको शनिबार भएको अन्तिम सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ३–० को जित निकाली आर्मीविरुद्धको फाइनल पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिसलाई २–१ ले हराएको थियो ।

गत कार्तिकमा नेपाल एपिएफले दुधेमा भएको पहिलो झापा महिला गोल्डकपको फाइनलमा आर्मीलाई हराएको थियो । आर्मीलाई झापा गोल्डकपको फाइनलमा व्यहोरेको हार बदला लिने अवसर छ । एपिएफलाई फाइनलमा प्रवेश गराउनका लागि स्ट्राइकर रश्मिकुमारी घिसिङले दुई तथा कप्तान अनिता बस्नेतले एक गोल गरिन् । पहिलो हाफमा एक गोल मात्र व्यहोरेको चर्च ब्वाइजले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

चर्च ब्वाइडले केही समयअघि मात्र महिला टोली बनाएको थियो । यद्यपि, चन्द्रगढी गोल्डकपमा चर्च ब्वाइजले विभागीय टोलीबाहेक अन्य टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । एपिएफसँगको सेमिफाइनलमा चर्च ब्वाइज तुलनात्मक रूपमा कमजोर देखियो । एपिएफले ३४औँ मिनेटमा अग्रता लिएको थियो । कुसुम खतिवडाको उत्कृष्ट कटब्याकमा डिबक्समा रहेकी सरु लिम्बूले दिएको पासमा रश्मिकुमारीले एपिएफलाई १–० को अग्रता दिलाइन् । खेलको ४९औँ मिनेटमा कप्तान अनिताले आर्मीलाई २–० को स्थितिमा राखिन् । 

उनले डिबक्सभित्र सरुले फ्लिक गरेको बललाई सहजै गोल गरिन् । खेलको ६२औँ मिनेटमा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गर्दा एपिएफ ३–० को बलियो स्थितिमा पुग्यो । मैदानको मध्यभागबाट कप्तान अनिताले डिबक्सभित्र रश्मिकुमारीलाई पास उपलब्ध गराइन् । चर्च ब्वाइजकी गोलरक्षक लीला जोशी अघि बढेको मौकामा रश्मिकुमारीले हल्का चिप गर्दै गोल गरिन् ।

रक्षात्मक रणनीतिमा चर्च ब्वाइज
रश्मिकुमारी चालू प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा छिन् । उनले ६ गोल गरिसकेकी छिन् । एपिएफविरुद्ध चर्च ब्वाइजले सुरुदेखि रक्षात्मक खेल प्रस्तुत गर्यो । चर्च ब्वाइजको डिफेन्स लाइन र गोलरक्षक लीला जोशी खेलभर व्यस्त देखिए । 

एपिएफले आक्रामक खेल देखाएको थियो । चर्च ब्वाइजविरुद्ध एपिएफकी रेनुका नगरकोटी म्यान अफ दी म्याच हुँदै ११ हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा दुई विदेशी टोलीसहित १० टिमको सहभागिता थियो । 

फाइनलको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

See More On

सुझावित समाचार